शाख ३१ गतेदेखि चर्चामा रहेको भरतपुर महानगरपालिकाको निर्वाचन वडा नम्बर १९ मा पुनः मतदान हुँदै शनिबार राति अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सकिएको छ । स्थानीय तहको निर्वाचन भएका ६ वटा प्रदेशमध्ये सबैभन्दा बढी चर्चा भरतपुरकै भयो । नेपाली कांग्रेसले आफ्ना उमेदवारलाई फिर्ता गराएर नेकपा माओवादी केन्द्रकी उमेदवार रेणु दाहाललाई समर्थन गर्ने निर्णय गरेपछि नै त्यहाँको निर्वाचनका बारे बढी चर्चा र चासो राखिएको थियो । वडा नम्बर १९ मा पुनः मतदान नभएको भए जितको नजिक पुगेका एमाले उमेदवार देवी ज्ञवाली २०३ मतले माओवादी उमेदवारसँग पराजित भए । निर्वाचनको परिणामका सन्दर्भमा उनै ज्ञवालीसँग अक्षर काकाले गरेको संक्षिप्त कुराकानीः
निर्वाचन जित्नेमा विश्वस्त हुनुहुन्थ्यो, तर परिणाम त तपाईंको विपक्षमा पो आयो, कसरी ?
निर्वाचन मैले जितेकै हुँ । भरतपुरबासी न्यायप्रेमी जनताले मलाई आफ्नो अभिमत दिनुभएकै हो । अन्तिमसम्म उहाँहरूको साथ र सहयोग पाएँ । निर्वाचन परिणामले मलाई भन्दा पनि उहाँहरूलाई अत्यन्त दुःखित तुल्याएको छ । राज्यसत्ताले बदनियतपूर्वक हराएको हो मलाई । राज्यसत्ताले न्यायलाई कसरी निमोठ्न सक्छ भन्ने उदाहरण भरतपुर भएको छ यतिबेला ।
निर्वाचन परिणाममा एमाले पछि पर्नाको कारण के हो त ?
एमाले तथ्यांकमा र अंकगणितीय हिसाबले मात्रै पछि परेको हो । भरतपुरमा एमाले हारेको छैन । रेणुलाई राज्यसत्ताले जिताएको हो । भरतपुरबासीले त एमालेलाई नै जिताएका हुन् ।
यो त राजनीतिक कुरा भयो, परिणाममा त तपाईंले पराजय नै बेहोर्नुभयो नि !
प्रतिष्पर्धी उमेदवारलाई जिताउन राज्यसत्ताले भएभरको शक्ति खर्चियो । डर, धाक, धम्की देखायो । निर्वाचनको अघिल्लोदिन मध्यरातसम्म आचारसंहिताको धज्जी उडाउँदै उमेदवार स्वयम् घरघर जाने र पैसा बाँड्ने कामसमेत भयो । अघिल्लो पटक मत गन्दा ५१ मतमात्रै पछि परेको वडामा यसपटक पाँचसय भन्दा बढी मतले पछि पार्ने काम भयो । यसमा निर्वाचन आयोग, सम्मानित अदालत सरकार सबैको हात छ । यिनै कारणले परिणाममा मैले पराजय बेहोरेँ ।
भनेपछि गणबन्धनले भरतपुरलाई प्रतिष्ठाकै विषय बनायो ?
नजित्ने पक्कापक्की भएर मतपत्र च्यातिसकेपछि पुनः पराजय बेहोर्नु गठबन्धनका लागि लज्जाको विषय हुन्थ्यो । त्यसकारण पनि उनीहरूले सम्पूर्ण राज्यशक्ति भरतपुरमा प्रयोग गरे । निर्वाचनलाई आफ्नो पक्षमा पारे । अघिल्लोपटक असन्तुष्ट कांग्रेसका मतदातालाई यसपटक विभिन्न प्रलोभन देखाएर सन्तुष्ट पारियो । पार्टीभित्रको अन्तरविरोधको हल गरियो र रेणुको पक्षमा मत हाल्न बाध्यजस्तै बनाइयो ।
निर्वाचनकै अघिल्लो दिन मेरो छोरालाई अनाहकमा, मिलिसकेको, गल्ती स्विकारिसकेको विषयमा जवरजस्ती पक्राउ गर्ने, दुःख दिने र भरतपुरका मतदातालाई आतंकित तुल्याउने र परिणाम प्रभावित पार्ने प्रपञ्च रचियो । मनोवैज्ञानिक त्रासको आडमा चुनाव जित्ने भित्रि उद्देश्य थियो त्यो ।
अर्को राज्यसत्ताको यति दुरुपयोग भयो कि त्यसको कुनै लेखाजोखा छैन । मैले रेणु दाहालसँग चुनाव लडेको होइन, माओवादी केन्द्रसँग, गठबन्धनसँग कसैसँग चुनाव लडेको होइन । मैले त पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरेको थिएँ । राज्यसत्ताका अघिल्तिर मेरो केही जोर चलेन । भरतपुरकोबासीको पनि केही सीप चलेन । अन्ततः न्याकिएँ म ।
एमालेले अघिल्लो मत नै जोगाउन सकेन, त्यसवडामा वडाध्यक्षलाई जति मतसमेत आएन तपाईंको आफ्नो मतदाता पनि जोगाउन सक्नुभएन ! तपाईंहरूको आन्तरिक कमजोरी देखियो नि ?
केही कार्यशैलीगत कमजोरी हुनसक्छन् । मुख्यकुरा हामी राज्यसत्ताका सामू निरीह भएका हौँ । दुई चरणको निर्वाचनबाट एमाले ठूलो पार्टी बनेपछि तर्सिएका थिए सबै । माथि नै भनिसकेँ उमेदवारकै उपस्थितिमा करोडौँ रुपैयाँ बाँडिएको छ । व्यापक चलखेल भएको छ । यस्तो अवस्थामा मतदाता प्रभावित हुनु स्वभाविकै हो । यस्तो विषम परिस्थितिमा पनि पार्टी पंक्ति, भरतपुरबासी न्यायप्रेमी जनताको अभूतपूर्व साथ, सहयोग र समर्थन पाएँ मैले ।
भरतपुरमा एमाले कमजोर भएको हो कि कांग्रेस ?
यो प्रकरणपछि भरतपुरमा एमाले बलियो भएको छ । गणितमा मात्र तल परेको हो । स्वयम् कांग्रेस माओवादी केन्द्रकै साथीहरू छाती फुलाएर हिँड्न सक्नुभएको छैन । जितेको अनुभूति पनि भएको छैन उहाँलाई । युसर्थमा हामीलै नै जितेका हौँ भरतपुरको चुनाव ।
अब विजयी उमेदवारलाई सघाउनेमा यहाँको भूमिका कस्तो हुन्छ ?
राज्यसत्ताले रेणु दाहालको मेयरको कुर्सीमा बस्ने सपना पूरा गरिदिएको छ । भरतपुरबासी जनताको सेवामा जुटेको वर्षौं भयो । नेतृत्वमा पछि परे पनि भरतपुरको विकास र समृद्धिमा म अनवरत लागि नै रहनेछु । कुनै कमि हुन दिन्नँ । जनताको सुख–दुःखमा साथ दिन, काम गर्न यो चुनावले धेरै ऊर्जा दिएको छ मलाई ।(बाह्रखरी )










