नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै पहिलो चर्चा विदेश भ्रमणको हुन्छ । शपथ लिएकै दिनदेखि प्रधानमन्त्रीको पहलिो विदेश भ्रमण कुन देशबाट सुरु होला भन्ने चर्चा हुन थाल्छ ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा पनि त्यस्तै चर्चा भइरहेको छ । पुस ११ प्रधानमन्त्री पदको शपथ लिएका उनले त्यस यता विदेश भ्रमण गरेका छैनन् । उनको पहिलो विदेश भ्रमणका बारेमा चर्चा भइरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त हुनासाथ बधाई दिने क्रममा भारत भ्रमणका निम्तो दिएका थिए । प्रधानमन्त्रीमा शपथ लिएको भोलिपल्ट नै प्रधानमन्त्री प्रचण्डले एक भारतीय टेलिभिजन च्यानलमार्फत आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने घोषणा गरेका थिए ।

त्यो बेलादेखि प्रायः प्रत्येक दिन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको चर्चा हुने गरेको छ । उनी भारत भ्रमणमा जाने निश्चित भएको छ । वैशाखको अन्तिम सातादेखि जेठको पहिलो सातासम्ममा उनी भारत भ्रमणमा जाने तय भएको छ ।

हुन त प्रचण्डलाई चीनले पनि भ्रमणको निम्तो दिएको थियो । चीनले बोआओ फोरममा सहभागी हुन २०७९ फागुन ८ गते नै प्रधानमन्त्री प्रचण्डलाई आफ्नो दूतावासमार्फत निम्तो दिएको थियो । तर उनी सो कार्यक्रममा सहभागी हुन चीन गएनन् ।

२०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए । त्यतिबेला उनको सो भ्रमणप्रति भारतले असन्तुष्टि जनाएको थियो । तत्कालै प्रचण्डले प्रतिक्रिया दिँदै भनेका थिए, ‘ओलम्पिक खेलको समापन कार्यक्रममा सहभागी हुन चीन गएको हुनाले चीन भ्रमण अनौपचारिक हो, पहिलो औपचारिक भ्रमण भारत नै हुन्छ ।’
तै पनि भारतले उनीप्रति आशंकाको दृष्टिले हेर्यो । नौ महिनापछि रुक्माङ्गत कटुवाल प्रकरणमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । त्यतिबेला राजीनामा दिँदै उनले भनेका थिए, ‘विदेशी प्रभु सामु कुर्सीका लागि झुक्ने छैन ।’

त्यसपछि प्रचण्ड २०७५ मा प्रधानमन्त्री हुँदा २०७५ भदौमा पहिलो विदेश भ्रमण भारतबाटै गरेका थिए तर त्यतिबेला पनि चीनले उनको पहिलो भ्रमण आफ्नो देशबाट गराउन खोजेको थियो । तर प्रचण्डले २०६५ कोजस्तो जोखिम लिन चाहेनन् । उनले भारत भ्रमणलगत्तैै चीनको भ्रमण पनि गरे । त्यतिबेला उनले भारत र चीनलाई सन्तुलनमा राख्न प्रयास गरेका थिए ।

यसपटक पनि उनी भारत भ्रमणबाट फर्केपछि चीन भ्रमणमा जाने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय