धनुषाको जनकपुरधाममा दाइजोको निहुँमा श्रीमान र परिवारका सदस्यले आगोमा जलाएर हत्या प्रयास गरेको पीडित महिलाले बताएकी छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाले आफ्नो हत्या प्रयास भएको बताएकी हुन्।

प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत श्वेताले श्रीमान राजीव, ससुरा शिवशंकर झा, सासु, देवरलगायतले कुटपिट गर्दै शरीरमा आगो लगाइदिएर हत्या प्रयास गरेको बताइन् । ‘हाम्रो विवाह भएको १० वर्ष वितिसक्यो । दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै श्रीमानसहित घरपरिवारले मलाई यातना दिँदै आएका थिए, ‘अहिले आगो लगाएर मेरो ज्यानै लिन खोजे ।’

घटना वैशाख १ गते नयाँ वर्षको दिन हो । राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहेका थिए । त्यसलाई रोक्न खोज्दा राजीवले भाइ, बुबा र आमाको सहयोगमा आफूलाई पनि कुटपिट गर्दै आगोले जलाइदिएको श्वेताको आरोप छ ।

घटना थाहा पाएपछि भारत बिहारको दरभंगास्थित पोठिया गाउँ माइत रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार श्वेताको घाँटीभन्दा तल शरीरको ३५ प्रतिशत भाग जलेको छ ।

विवाहको बेला माइती पक्षले २ लाख भारतीय रुपैयाँ दिएको थियो । तर अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक–पटक आफूलाई यातना दिँदै आएको श्वेताको भनाइ छ । विवाहपश्चात् आफ्नो बुबाले निरन्तर राजीव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको श्वेताको भनाइ छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले पीडित परिवारबाट उजुरी नपरेको र औपचारिक जानकारी नआएको बताए । यद्यपि विभिन्न माध्यमबाट जानकारी पाएपछि अनुसन्धान गरिरहेको उनले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय