रुस युक्रेनबीचको युद्ध जारी रहँदा मस्कोले नेपाल दक्षिण एशियामै उसको पुरानो साझेदार रहेको बताउँदै सहकार्यलाई थप गहिरो बनाउने आफ्नो इच्छा रहेको जनाएको छ।
रुसको माथिल्लो सदनकी प्रमुखले “पश्चिमा प्रतिबन्धहरूलाई समर्थन नगरेको भन्दै नेपालप्रति प्रसन्नता व्यक्त गरेको” उनको वेबसाइटमा राखिएको विवरणमा जनाइएको छ।
हाल मस्कोको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको प्रतिनिधिमण्डलले रुसको माथिल्लो सदनकी प्रमुख, तल्लो सदन स्टेट डुमाका अध्यक्ष र त्यहाँका उपप्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।
युक्रेनमाथिको रुसी अतिक्रमणलाई राष्ट्रसङ्घीय मञ्चमा निन्दा गरेको नेपालले उक्त द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि जोड दिएको मस्कोस्थित नेपाली राजदूतले बताएका छन्
रुसको माथिल्लो सदनकी सभामुख भ्यालेन्टीना म्याटभिएन्कोको निम्तोमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना नेपाली प्रतिनिधिमण्डलको नेतृत्वगर्दै मस्को गएका हुन्।
उनले आफ्नी समकक्षी र रुसका उपप्रधानमन्त्री दिमित्री चेर्नीसेन्कोसँग मङ्गलवार भेटवार्ता गरेका थिए।
रुसका उपप्रधानमन्त्रीको कार्यालयले उक्त छलफलले नेपाल रुस सम्पर्कलाई मजबुत पार्ने विश्वास गरेको छ।
चेर्नीसेन्कोलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “नेपाल दक्षिण एशियामा रुसको लामो समयदेखिको साझेदार हो र हाम्रा नागरिकहरूबीचको सम्बन्ध मजबुत रहेको छ। रुस र नेपालबीचको सम्बन्ध सधैँ समानता र आपसी सम्मानमा आधारित रहेको छ।”
दुई पक्षबीच व्यापार र आर्थिक सहकार्यका बारेमा छलफल भएको रुसको माथिल्लो सदन फेडेरेसन काउन्सिलकी सभामुखको कार्यालयले जनाएको छ।
सभामुख मेटभिएन्कोलाई उद्धृत गर्दै उनको कार्यालयले भनेको छ, “रुसमाथि पश्चिमा देशहरूले लगाएको आर्थिक र वित्तीय प्रतिबन्धलाई साथ नदिएकोमा हामी नेपालको प्रशंसा गर्छौँ।”
उनले भनेकी छन्, “नेपाल हाम्रो धेरै पुरानो साझेदार राष्ट्र हो। हामी दक्षिण एशियामा हाम्रो लामो समयदेखिको साझेदार नेपालसँग व्यापक र बहुआयामिक सम्बन्ध कायम गर्न इच्छुक छौँ।”
राष्ट्रिय सभाका अध्यक्षले नेपालको सरकार र सङ्घीय संसद् दुवैले रुससँगको सम्बन्धलाई अझ उचाइमा पुर्याउन चाहेको बताएका थिए।



