
तालिकाबिना दैनिक ८ देखि १२ घण्टासम्म हुँदै आएको अनियमित विद्युत् कटौतीले उद्योग चौपट भएको भन्दै मोरङ व्यापार संघले आइतबार विद्युत् प्राधिकरणको दुहवी ग्रिडमा घेराउ गरेको छ ।
विद्युत् कटौतीको तालिका सार्वजनिक गर्न र भएको विद्युत् व्यवस्थित रुपमा वितरण गर्नुपर्ने माग गर्दै संघमा आबद्ध सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले ग्रिडमा धर्ना दिएका हुन् ।
धर्नाका क्रममा उद्योगीले विद्युत् कटौती तालिका सार्वजनिक गर्, जथाभावी विद्युत् काट्न पाइँदैन, उद्योग मार्न पाइँदैन, कुलमान घिसिङ राजीनामा दे जस्ता नारा लगाएका थिए ।
उनीहरुले विद्युत् कटौतीको तालिका सार्वजनिक नगरेसम्म घेराउ कार्यक्रम जारी रहने बताएका छन् ।
औद्योगिक क्षेत्रले पछिल्लो पटक अनियमित विद्युत् आपूर्तिकै कारण उत्पादन लागत समेत बढेको छ । उत्पादित वस्तुको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमतामै ह्रास आएको, श्रमिक व्यवस्थापनमा समस्या भएपछि कार्यालय घेराउ गर्न बाध्य भएको उनले बताए ।