
सत्ता गठबन्धनले केन्द्र र प्रदेशहरुमा सरकार गठन र पूर्णताको गृहकार्य थालेको छ । आइतबार तनहुँ–१, चितवन–२ र बारा –२ मा उपनिर्वाचन सम्पन्न भएसँगै सत्ता गठबन्धनले सरकारका सन्दर्भमा गृहकार्य थालेको हो ।
केन्द्र र प्रदेशहरुमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, नाउपा, नेसपा, आम जनता पार्टी र जनमोर्चा गरी १० दलीय गठबन्धनको सरकार छ । माओवादी केन्द्र नेतृत्वको संघीय सरकारमा कांग्रेस, जसपा, एकीकृत समाजवादी, नाउपा, लोसपा र नेसपा सहभागी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत, आजपा र जनमोर्चाद्वारा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन छ । तर सरकारले पूर्णता भने पाउन सकेको छैन । कांग्रेससहितको १० दलीय गठबन्धन बनेपछि चैत १७ र वैशाख ३ गरी २ पटक मन्त्रिपरिषद विस्तार हुँदा पनि सरकारले पूर्णता पाउन नसकेको हो ।
गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसको भागमा परेका युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र जसपाको भागमा परेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा छ । जनमतका अब्दुल खानले राजीनामा दिएपछि खानेपानी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै सम्हालेको अवस्था छ ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले एकदुई दिनमै मन्त्रिपरिषद विस्तार हुने बताए । ‘शीर्ष नेताहरु उपनिर्वाचनमा केन्द्रित हुँँदा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुन पाएन । अब एकदुई दिनमा सरकारले पूर्णता पाउँछ,’ उनले भने ।