उपनिर्वाचनको धपेडी लगभग अन्त्यतिर आइपुग्दा प्रदेशहरूमा नयाँ सरकार गठनको अर्को धपेडी सुरू भएको छ।

मुख्यमन्त्रीहरू पदमुक्त नै भइसकेका कारण लुम्बिनी र गण्डकीमा नयाँ सरकार गठनको काम चाँडै हुने सम्भावना छ।

नेकपा एमाले नेतृत्वमा बाँकी रहेको एक मात्र प्रदेश सरकार कोशीमा नयाँ सरकार बनाउने कसरत सुरू भए पनि यसले भने केही समय लिन सक्नेछ।

वर्तमान सत्ता गठबन्धनका तीन मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काठमाडौंमा शीर्ष नेताहरू भेटेर यस्तो कसरत गरिरहँदा प्रदेशको नेतृत्वमा रहेको एमाले भने अर्को दलका सांसद फकाउने अभियानमा जोडतोडले लागेको छ।

यसरी उपनिर्वाचनको समापन कुरिरहेका दलहरूले प्रदेशमा नयाँ सरकार बनाउन र आफ्नो सरकार टिकाउन खेल सुरू गरेका छन्।
अहिले कोशी प्रदेशमा विपक्षमा रहेको मुख्य प्रतिपक्षी दल कांग्रेस, अर्को विपक्षी दल एकीकृत समाजवादी र अहिले सत्तासीन रहेको माओवादी केन्द्रले नयाँ सरकार निर्माणका लागि कसरत सुरू गरिसकेका छन्।

केही दिनयता काठमाडौंमा बसेर शीर्ष नेताहरूसँग यहीबारेमा छलफल चलाइरहेका यी तीन वटै दलका प्रदेशका नेताहरूले मंगलबार पनि नेताहरूसँगको भेटघाट जारी राखेका छन्।

‘एक चरण सबैसँग कुराकानी भइसकेको छ’, पूर्व मुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले भने, ‘हामीले आज पनि भेटघाट गरेका छौं। अब चाँडै माओवादी र जसपाले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।’

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वमा रहेको सरकारबाट माओवादी र जसपा कहिले बाहिरिने भन्ने टुंगो ‘आजभोलिमै लाग्ने’ नेता राईले बताए।

‘त्यसै विषयमा नेताहरूसँग चरण–चरणमा छलफल भइरहेको छ’, उनले भने ‘आजभोलिमै यसबारे टुंगो लाग्ला।’

पूर्व मुख्यमन्त्री राई, कांग्रेस प्रदेशका नेता उद्धव थापा र माओवादी दलका नेता इन्द्रबहादुर आङ्बोले सबै शीर्ष नेताहरूसँग भेटेर छलफल गरेको र अब निर्णायक ‘ग्रीन सिग्नल आएपछि प्रक्रिया अघि बढ्ने नेताहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय