दैनिक ३ करोड लिटर पानीको माग रहेको धरानमा आपूर्ति करिब २ करोड लिटर मात्रै, नगरप्रमुखले थालेको अभियानमा श्रमदानसँगै आज सम्ममा नगद साढे ९ करोड जुट्यो

जब जंगलमा आगो लाग्छ, त्योबेला एउटा साहसी पन्छी सुगाले भावुक भएर नदीमा डुबुल्की मार्दै पखेटामा टाँसिएको पानीका थोपाले डढेलो निभाउन कोसिस गर्छ ।

तर थोपाथोपा झारेको पानीले ऊ एक्लैले डढेलो निभाउन सक्ने कुरै भएन । तैपनि उसले आफ्नो प्रयासलाई निरन्तरता दिन्छ ।यो हामीले पढेको/सुनेको चर्चित नीतिकथा हो ।

यस्तै, सुगाको नियति भोगिरहेको देखिन्छ धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाई ।

डढेलोजस्तो धरान सहरमा खानेपानीको हाहाकार छ । अहिले अधिकांश वडाध्यक्ष एकातिर छन् भने साम्पाङ अर्कातिर । खानेपानीका लागि भन्दै साम्पाङ खोलाखोल्सीदेखि कोशी किनारसम्म धाइरहेका छन् ।
सामाजिक सञ्जालमा उनी जति ठट्यौला देखिन्छन्, पदभार ग्रहण गरेदेखि नै पानी कसरी ल्याउने भन्नेमा गम्भीर छन् ।

उनी स्वतन्त्र उठेर निर्वाचित हुन् । धरानमा २० वटा वडाहरू छन्, वडाध्यक्षहरू दलबाट उम्मेदवारी दिएर जितेका छन् । यतिबेला साम्पाङ र वडाध्यक्षहरूबीच सम्बन्ध चिसिएको छ ।
समग्र धरानको विकासका लागि नगरप्रमुखले समन्वय नगरेको आरोप लगाइरहँदा साम्पाङ भने खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर श्रमदानमार्फत पाइपलाइन विस्तार गर्ने, नयाँ मुहान खोजी गर्ने र अभाव पूर्ति गर्ने ध्याउन्नमा छन् । उपमहानगरको मुख्य खाँचो टार्न लागिपरेका उनी नरम बोल्न र सबै वडाका जनप्रतिनिधिलाई साथै लिएर अघि बढ्न भने नसकेको देखिएको छ ।

जनप्रतिनिधि वडाध्यक्षहरूको तर्क सुन्दा उनीहरू नै ठीक भन्नेहरू साम्पाङको भावुक तर्क सुनेर उनी झन् बढी ठीक देखिने बताउँछन् । तर सानासाना विषयमा उठेको विवाद समाधान हुन नसक्दा भने स्वतन्त्र प्रमुख र दलीय वडाध्यक्षबीचको विवादलाई प्रतिष्ठासँग जोडेको सहजै अनुमान गर्न सकिन्छ । यही कारण नगरको मुख्य खाँचो खानेपानी व्यवस्था गर्न जनप्रतिनिधिहरू एक हुन सकेका छैनन् । धरानमा यतिबेला खानेपानीको चरम संकट छ । नगरवासी ट्यांकरमा पानी किनेर उपभोग गरिरहेका छन् । सन् २०१२ देखि सुरु भएको एकीकृत सहरी विकास आयोजनाअन्तर्गत करिब २ अर्ब रुपैयाँ बजेटको धरान खानेपानी योजनाले दैनिक १ करोड ५२ लाख लिटर भूमिगत पानी चारकोसे जंगलबाट आपूर्ति हुने भनिएको थियो । तर अझै पर्याप्त आपूर्ति हुन नसक्दा संकट नटरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय