
विषादि खुद्रा बिक्री गर्ने तर विषादि बिक्रीको इजाजत–पत्र नभएका व्यवसायी र नयाँ व्यवसाय गर्न इच्छुक ५८ जनालाई ६ दिने तालीम प्रदान गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
सहभागीलाई जीवनाशक विषादि व्यवस्थापन ऐन, विषादिको परिचय र वर्गीकरण, विषादिका प्रकारहरु, विषालुपना, बालीमा लाग्ने रोग कीराहरु, विषादीको सुरक्षित प्रयोग, भण्डारण, ओसारपसार, बिक्री वितरण र विषादिको विर्सजनका विषयमा तालीम प्रदान गरिएको उहाँले बताउनुभयो ।
“कतिपयले जान नजानी प्रतिबन्धित र हानिकारक विषादि बेचिरहेका छन्”, उहाँले भन्नुभयो, “इजाजत–पत्र नभएकाहरुलाई इजाजत दिएर व्यवस्थित रुपमा विषादि विक्री वितरण गराउने तालीम र परीक्षाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।”
गत बैशाख ३ गतेदेखि ८ गतेसम्म सञ्चालित तालीम पछि ८ गते नै प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवनले परीक्षा लिएको छ । दुई साताभित्र परीक्षाको नतिजा आउने र परीक्षामा उत्तीर्ण भएकाहरुलाई मात्र इजाजत पत्र प्रदान गरिने जनाइएको छ ।