नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू यति बेला चितवनको भरतपुरमा भेला भएका छन् ।
बिद्रोहको धम्कि दिदै आएको नेकपाले स्थानीय निकायको चुनाबपछि पहिलो पटक सबै नेताहरु जम्मा पारेको हो । भेलामा महासचिव ‘विप्लव’ सहितका सबै शीर्ष नेताहरू भरतपुरमा जम्मा भएका छन् ।
नेकपाका एक केन्द्रीयका अनुसार , ‘केन्द्रीय कार्यसमितिको बैठकको रणनीति र भावी योजनाका विषयमा जानकारी दिन केन्द्रीयस्तरको प्रशिक्षण कार्यक्रम राखिएको हो ।’
प्रशिक्षणमा महासचिव ‘विप्लव’ र शीर्ष नेताहरूले दुई दिनसम्म भावी रणनीतिका विषयमा प्रशिक्षण दिने छन् । हालसम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डाका बारेमा जानकारी दिन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको स्रोतको भनाइ छ ।
साथै ‘नेकपा’ले २ नं. प्रदेशमा असोज ३ गते हुन लागेको तेस्रो चरणको निर्वाचनलाई बिथोल्ने रणनीति बनाएको छ । निर्वाचन बिथोल्नका लागि ‘नेकपा’ विशेष टोली परिचालन गर्ने तयारी समेत गरेको स्रोतको भनाइ छ ।
‘नेकपा’ले संगठन सुदृढीकरण र जनजागरण्का लागि तीन महिने अभियान चलाउने निर्णय गरेको छ । यो तीन महिनामा भातृसंगठनहरूको अधिवेशन गर्ने, प्रशिक्षण, अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने स्रोतको भनाइ छ ।
एक नेताका अनुसार ‘नेकपा’ले आफ्नो सांगठनिक संरचनामा समेत हेरफेर गरेको छ । नारायणी पूर्व र नारायणी पश्चिमलाई दुई भागमा विभाजन गरेर संगठन बनाइएको छ ।
पूर्वी कमाण्ड हेमन्त प्रकाश ओली र पश्चिम कमाण्ड सन्तोष बुढाले सम्हाल्ने छन् ।



