विराटनगर,१४ बैशाख । एसइई परीक्षामा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने कन्सल्टेन्सी सञ्चालकलाई धरौटीमा छाडन अदालतले आदेश गरेको छ । उमेर पुगेका नक्कली परीक्षार्थीहरूलाई पनि धरौटीमा र नाबालकहरूको हकमा भने अभिभावकलाई जिम्मा लगाउन मोरङ अदालतले बिहीबार आदेश गरेको हो ।

मोरङ अदालतका न्यायाधीश गायत्री प्रकाश रेग्मीको इजालशले पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक सन्तोष राईलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेका छन् । पक्राउ परेका अन्य १६६ जना नक्कली परीक्षार्थीहरूलाई जनही ४० हजार रुपैयाँ र नाबालक २८ जनालाई अभिभावकलाई जिम्मा लगाउन आदेश गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

मोरङको तीन वटा परीक्षा केन्द्रबाट एसइईको सामाजिक विषयको परीक्षा दिँदै गर्दा गत चैत १७ गते १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना, ग्रामथान गाउँपालिका २ झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीले मोरङ अदालतमा शिक्षा ऐन २०२८ अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।

घटना स्थल छुट्टा छुट्टै स्थानमा भएकोले प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत तीन वटा छुट्टै मुद्दा दायर गरेको थियो । ६ जना कन्सल्टेन्सीसहित ३९४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमध्ये पक्राउ परेर अदालतमा उपस्थित भएकाहरूको हकमा अदालतले आदेश गरेको हो । अरूको हकमा उनीहरू उपस्थित भएपछि आदेश हुनेछ ।
प्रहरीको अनुसन्धानबाट ६ जना कन्सल्टेन्सी सञ्चालकहरूले नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने गरेको पाइएको छ । उनीहरूले पास गर्ने जिम्मा लिएर एक जना विद्यार्थीबाट कन्सल्टेन्सीले ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ । नक्कली परीक्षार्थीले व्यापार व्यवसायदेखि विभिन्न क्षेत्रमा लागेका व्यक्तिको परीक्षा दिएको बुझिएको छ । सक्कली परीक्षार्थीहरू धेरै काठमाण्डौं तिर बसोबास रहने रहेको बताइएको छ । (हाम्रो मतबाट )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय