राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन्।
शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन्।
उनले सांसदहरूले खादा,माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो? भन्ने प्रश्न गर्दै सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए।
उनले अरु हेर्ने विभाग भएपनि अनुसन्धान आविष्कार नवप्रवद्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।
उनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे। उनले नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताए।
‘अनुसन्धान आविष्कार नवप्रवद्धन गर्ने विभाग खोई? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ। यो अनुरोध सबै पार्टीलाई हो। अरु पार्टी पनि आएर मेरो भाषण सुनुन्। की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन्।
यो नेपालीको दर्द हो, संसदमा केहीले बोले रे आज पनि बोल्ने रे भन्ने मान्छे आएका छन्, बोलेर मात्रै केही हुँदैन, बोलेर हुने भए सबै भइसक्थे, बोलेर कदम चाल्ने नेताज्युहरु चाहियो। यो सांसदको जिम्मा हो।’ उनले भने,’ सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन,कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन सांसदलाई काम गरेनन् भने ढ्याँग्रो ठोक्दै लखेट्नुपर्छ।’