मानिसले अहिलेसम्म बनाएको सबैभन्दा ठूलो र शक्तिशाली रकेट स्पेसएक्सको स्टारशिप हो । तर वैशाख ७ गते पहिलो प्रक्षेपण गर्ने क्रममा यो रकेट विष्फोट हुन पुग्यो ।
यस रकेटमा स्टारशिप स्पेसक्राफ्ट र लञ्च बुस्टर गरी दुई भाग छन् । रकेटको माथिल्लो भागमा स्पेसक्राफ्ट र तल्लो भागमा लञ्च बुस्टर राखिएको छ ।
स्टारशिपको उचाइ १६४ फिट (५० मिटर) र व्यास २९.५ फिट (९ मिटर) छ । त्यस्तै सुपर हेभी बुस्टर २२६ फिट (६९ मिटर) अग्लो छ।
त्यस्तै यी दुवैको कूल उचाइ ३९४ फिट छ।
यस अगाडिको सबैभन्दा ठूलो रकेट ‘स्याटर्न भी’को उचाइ ३७६ फिट थियो ।
स्टारशिप स्पेसक्राफ्ट र लञ्च बुस्टर गरी दुवैको कूल तौल ११ करोड पाउन्ड अर्थात् ५००० मेट्रिक टन हुन्छ । अहिले इन्टरनेसनल स्पेस स्टेसनको तौल १० लाख पाउन्डभन्दा कम रहेको छ ।
कम्पनीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले मंगल ग्रहमा मानव बस्ती बसाउन र नासालाई अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा पुन: पठाउन स्टारशिप प्रयोग गर्ने बताउँदै आएका छन् ।
त्यस्तै कम्पनीले बुस्टर पुन:पर्योग गर्दै आएको छ । रकेटमा हुने सो बुस्टरलाई पृथ्वीको कक्षमा स्टारशिप पठाउन प्रयोग गर्ने गरिन्छ । उक्त बुस्टरबाट मस्कले मंगल ग्रहमा मानव बस्ती बसाल्न १,००० स्टारशिप रकेटहरू लग्ने बताएका थिए ।
तर पहिलो प्रक्षेपण असफल हुन गएपनि मस्कले सो कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका थिए । यद्यपि अहिले अमेरिकाको संघीय उड्डयन प्राधिकरणले अनुसन्धानका लागि सबै स्टारशिप रकेट ग्राउन्ड गरेको छ । साथै स्पेसएक्सले कहिले पुन: प्रक्षेपण गर्छ भन्ने पनि अन्यौल नै रहेको छ ।