गत साउनमा जिल्ला प्रशासन कार्यालय झापाले आह्वान गर्दा झापाका २४जना मिटरब्याज पीडितहरूले उजुरी दिएका थिए । तर,ती निवेदनउपर खासै कामकारबाही भएन । यस वर्ष फेरि प्रशासन कार्यालयले उजुरी आह्वान गरेको छ । आजदेखि १५ दिनसम्म उजुरी दिन जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको हो । शुक्रवार प्रशासन कार्यालयले जिल्लाका सबै पालिकाहरूलाई पत्र पठाएर मिटर ब्याज पीडितको उजुरी दर्ताका लागि सूचना प्रचारप्रसार गरिदिन परिपत्र गरेको हो ।

गृह मन्त्रालयले देशभरिका जिल्लामा परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले पनि आजदेखि मिटर ब्याज पीडितहरूको उजुरी लिने सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले बताए । गृह मन्त्रालयबाट गत साउन २८ गते सूचना जारी भएपछि झापामा पनि उजुरी लिइएको थियो । त्यस बेला जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रशासन कार्यालय दमकमा २४ वटा उजुरी परेका थिए । तीमध्ये केही उजुरीमाथि छलफल गराइएको न्यौपानेले बताए ।

‘हामी कारबाही गर्न सक्दैनौँ , कारबाहीका लागि पीडितहरू अदालत जानु पर्छ’ उनले भने, ‘केही उजुरीउपर दुवै पक्षबीच छलफल गराएका थियौंं ।’ उजुरी दिएर केही पीडितहरू सम्पर्कमै नआएको उनले बताए । झापामा पनि मिटर ब्याजको अपराधबाट धेरै जना पीडित भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय