झापा । झापाको शिवसताक्षीमा एकल महिलाको हत्या भएको छ। हत्या घटनामा संलग्न एकै परिवारका तीन आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
शिवसताक्षी नगरपालिका-६ स्थित डाँडागाँउ निवासी ६३ वर्षीया शान्तिमाया प्रधानको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६२ वर्षीय रतिलाल राजवंशी, उनकी २० वर्षीया छोरी फूलमाया र १८ वर्षीय छोरा रामकृष्ण राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
प्रहरीका अनुसार बैशाख १२ गते मंगलबार राति करिब ९ बजेको समयमा एकल महिला शान्तिमायाको हत्या गरिएको थियो। प्रहरीले उनको शव वैशाख १४ गते बेलुका घर नजिक फिलुंगेको नलले छोपिएको अवस्थामा फेला पारेका थिए।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। छिमेकीले पराल तान्न जाँदा दुर्गन्ध फैलिएपछि वरपर हेर्दा परालको माच छेउमा चप्पल देखेर खोजतलास गर्दा शव भेटिएको डीएसपी रिजालले बताए।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। यता एकल महिलाको हत्या गरिएको आशंका प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा छिमेकी रतिलालसहित उनका छोराछोरी घटनामा संलग्न देखिएको छ।
‘प्रारम्भिक अनुसन्धानबाट रतिलालले एकल महिलालाई कुटपिट गरी घाटी थिचेर हत्या गरिएको देखिन्छ,’ डीएसपी रिजालले भने, ‘महिलाको मृत्युपश्चात् रतिलाल र उनका परिवार मिलेर शवलाई लुकाएको हुनुपर्छ।’
एकल महिला घरमा एकलै बस्दै आएकी थिइन्। उनी दूध बिक्री गर्थिन। उनी र रतिलालबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी रिजालले बताए। घटना भएको दिन रतिलाल दूध लिन महिलाको घर गएका थिए।
यता पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान अघि बढाएको उनले बताए। ‘अहिले पनि घटना अनुसन्धानकै क्रममा छ,’ उनले भने, ‘थप विवरण प्रहरीले चाँडै सार्वजनिक गर्छ।’