
एक सय ३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । यस वर्ष सरकारले दिवसको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ ।
दिवसका अवसरमा विभिन्न श्रमिक संघ संगठनले श्रम हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले र्यालीसहितको कार्यक्रम गरेका थिए ।
नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको थियो ।