आज गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।
दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रममा गराउँदै यो पर्व मनाउँछन् ।
आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व तलेजुस्थित बहत्वाबाट निस्किएको घिन्तात्वाङ घिसीसँगै सोमबार साँझदेखि सुरु भएको हो । गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइन्छ ।
एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको विश्वास छ । यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ ।
व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको ‘शाही कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन् । चाएर जथाभाबी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने संस्कृतिविद् जोशीको भनाई छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमुना तथा काठमाडौंको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा र पोखरालगायत स्थानमा मनाइन्छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।










