काठमाण्डाै – वनमा लागेको आगो निभाउने क्रममा ज्यान गुमाउने घटना बढ्न थालेको छ । अर्घाखाँची र दैलेखपछि जाजरकोटमा पनि यस्तै घटना भएको छ । जाजरकोटको भेरी नगरपालिका-७ मा आगो निभाउने क्रममा जलेर सामुदायिक वनका अध्यक्षको ज्यान गएको हो ।

हिजो दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको जलेर ज्यान गएको भेरी नगरपालिका ७ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो दिउँसो सामुदायिक वनमा आगो निभाउन खोज्दा जलेर घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा ज्यान गएको हो । गाउँलेहरुको प्रयासमा डढेलो गएराति निभाइएको छ ।

यसअघि गएको मङ्गलवार अर्घाखाँचीमा आगलागी हुँदा एकै गाउँका चार जनाको ज्यान गएको थियो । यस्तै, दैलेखमा अस्ति बुधवार वनमा लागेको डढेलोमा परेर एक जनाको ज्यान गएको थियो भने जलेर घाइते भएका सात जनाको उपचार भइरहेको छ ।

विज्ञले सुरक्षाका उपाय अपनाएर मात्र आगो निभाउन आग्रह गरेका छन् । सुरक्षाको उपायविना आगो निभाउँदा ज्यान जाने खतरा धेरै हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले बताउनुभयो ।

केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । धेरैजसो आगलागी र डढेलो मानवीय लापरबाहीकै कारण लाग्ने भएकाले सचेत हुन र सावधानी अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर