अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक अधिकृतलाई पक्राउ गरेको छ । जनस्वास्थ्यका अधिकृत रामप्रसाद साह दुई लाख रुपैयाँ घूससहित अख्तियारको फन्दामा परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले अधिकृत साहलाई भद्रपुरस्थित उनकै इन्स्टिच्युटबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।नयाँपत्रिका अनलाइनले लेखेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियनसमेत रहेका साहले झापाको दमकस्थित एक अस्पतालबाट दुई लाख रुपैया घूस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीका डिएसपी रमेश बस्नेतले बताए ।

रकम दिन आएका व्यक्तिलाई जनस्वास्थ्यमा नबोलाएर भद्रपुर–८ स्थित पृथ्वी निमावि परिसरमा उनले खोलेको रामप्रसाद–लक्क्षेन्द्र टेक्निकल इन्सिच्युटमा रकम लिएसँगै उनी पक्राउ परेका हुन् ।

जनस्वास्थ्य कार्यालयमा वार्षिक रूपमा गरिनुपर्ने दर्ता नवीकरणको प्रमाणपत्र दिने सर्तमा अधिकृत साहले अस्पतालबाट दुई लाख रुपैयाँ घूस माग गरेका थिए । माग गरेको रकम नदिए प्रमाणपत्र नदिने साहले अस्पताललाई जनाएका थिए ।

प्रमाणपत्रको नाममा साहले अस्पतालबाट दुई लाख रुपैयाँ घूस माग गरेपछि अस्पतालका सञ्चालक समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसहितको लिखित निवेदन दिएपछि अख्यितारको टोली खटिएको थियो । पक्राउ परेका अधिकृत साहलाई आवश्यक कारबाहीका लागि विशेष अदालतमा पेस गरिने डिएसपी बस्नेतले जानकारी दिए ।