नेपाल आइसिसी विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा टेस्ट टोली आयरल्यान्डसँग दुई विकेटले पराजित हुन पुग्यो । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो ।

आयरल्यान्डको जितमा ह्यारी टेक्टरले ६० र कर्टिस क्याम्फर ६२ रनको योगदान दिए । नेपालका करण केसीले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो । नेपालका गुलशन झाले सर्वाधिक ५७ रन बनाए ।

टेस्ट टोली आयरल्यान्डले नेपालविरुद्ध लक्ष्य पछ्याउन संघर्ष गरेपनि अन्तिम ओभरमा पुगेर जित हात पार्न सफल भयो । नेपालले आफ्नो इतिहासमा पहिलो पटक टेस्ट टोलीलाई हराउने दुर्लभ अवसर गुमाएको थियो । नेपालले आयरल्यान्डसँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५.स्कोर बोर्डमा ३० रन कम हुनु
नेपालले पहिला ब्याटिङ गर्दै २ सय ६८ रन बनाएको थियो । तर टेस्ट टोली आयरल्यान्डलाई जित्न त्यो तुलनात्मक रूपमा स्कोर बोर्डमा कम रन थियो । नेपाललाई ३० रन जति कम भएको थियो ।

यदि नेपालले ३ सयको आसपासमा योगफल बनाउन सकेको भए आयरल्यान्डलाई मानसिक र स्कोरबोर्डको दबाबमा राख्न सक्थ्यो । स्कोर बोर्डको दबाबमा खराब सर्ट खेल्दै ब्याटर चाँडै आउट हुन सक्थे । अर्कोतर्फ नेपालको बलिङ राम्रो हुँदा बललाई दबाब कम हुन्थ्यो । बलरले एक दुई ओभर खराब गर्दा पनि खेलमा फर्किन सक्थे ।

४.टस हार्नु

नेपालले टस हार्नु अर्को हारको कारण हो । नेपालले पछिल्लो ६ महिनामा पहिला ब्याटिङ भन्दा लक्ष्य पछ्याउँदा धेरै राम्रो गर्दै आएको छ । नेपालले विश्वकप छनोटमा जितेका दुबै खेल लक्ष्य पछ्याउँदा थियो । नेपालले युएईलाई तीन विकेट र अमेरिकालाई ६ विकेटले हराएको थियो ।

आफ्नै स्तरको टोली नेदरल्यान्ड्ससँग पहिला ब्याटिङ गर्दा नेपाल १ सय ६७ रनमै अल आउट भएको थियो । युएईविरुद्ध १ सय ८२ रनको लक्ष्य पछ्याउनेक्रममा ६३–६ को अवस्थाबाट खेल जितेको थियो । लक्ष्य पछ्याउँदा ब्याटर गणीतिय रूपमा हिसाब गरेर अघि बढ्न सक्छन् । तर पहिला ब्याटिङ गर्दा विशाल वा राम्रो योगफलको लोभमा ठूला सट खेल्दा विकेट गुम्ने गर्दछ । नेपालले लक्ष्य पछ्याएको भए सायद नतिजा अर्कै हुन सक्थ्यो ।

३.क्याम्फर र डोकरेलको साझेदारी तोड्न नसक्नु

नेपाली बलरले राम्रो प्रदर्शन गरेपछि आयरल्यान्ड सुरुवात देखीनै दबाबमा परेको थियो । कुनै पनि ब्याटर खुलेर खेल्न सकेका थिएन् । आयरल्यान्डका प्रमुख ब्याटर ह्यारी टेक्टर आउट हुँदा आयरल्यान्ड २६ ओभरमा १३४-५ को अवस्थामा थियो ।

आयरल्यान्डको तुलनात्मक रूपमा तल्लोक्रम ब्याटिङ कमजोर छ । त्यसैले जर्ज डोकरेल र कर्टिस क्याम्फरको विकेट समयमै लिन सकेको भए आयरल्यान्डलाई उक्त लक्ष्य पूरा गर्न निकै कठिन पर्ने पक्का थियो । यी दुई ब्याटर पछि ग्यारेथ डेलानी, मार्क आदिर, ब्यारी म्याकार्थी र क्रेग योंग गरि सबै बलर थिए ।

दबाबमा यी बलर चाँडै आउट हुन सक्थे । तर छैटौं विकेटका लागि जर्ज डोकरेल र कर्टिस क्याम्फरले ८४ रनको साझेदारी गरे । उक्त साझेदारी नेपालको हारको एक कारण थियो ।

२.कमजोर फिल्डिङ

पुन नेपालको हारको कारण कमजोर फिल्डिङ रह्यो । २ सय ६८ रनको योगफल बचाउन टेस्ट टोलीविरुद्ध नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ गर्नुपर्ने थियो । तर फिल्डिङमा नेपालले केहि रन आउट र क्याचको अवसर छाडेको थियो । किशोर महतोले ब्यक्तिगत २१ रनमा टेक्टरको क्याच लङअनमा छाड्न पुगेका थिए ।

टेक्टरले पछि ६० रनको महत्वपूर्ण इनिङ खेले । टेक्टर र लोर्कान टकरको तालमेल नमिल्दा एक समय नेपाललाई रन आउट गर्ने अवसर आएको थियो । तर टकरलाई नेपालले रन आउट गर्न सकेन ।

खेलमा नेपालले तीन पटक राम्रो रन आउटको अवसर आएको थियो । स्कोर बोर्डमा कम रन हुँदा फिल्डिङ निकै चुस्त हुनुपर्छ । सानो सानो मौकामा फाइदा उठाउनुपर्छ । नेपाल उक्त कार्य गर्न भने चुकेको थियो ।

१.ठूलो इनिङको कमी

नेपालका कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । गुलशन झा ५७, अर्जुन साउद ४८ र कुशल मल्लले ४४ रन बनाए । दीपेन्द्रसिंह ऐरीसहित नेपालले प्रमुख ७ ब्याटर खेलाएको थियो । ७ मध्य दुई ब्याटरले ठूलो इनिङ खेल्नुपर्ने थियो । अर्जुन र कुशल मल्लले पाएको सुरुवात ठूलो इनिङमा बदल्न सकेनन् । रोहितले पनि २९ रन बनाए पनि ठूलो इनिङमा बदल्न गर्न सकेनन् ।

शीर्षक्रमका चार मध्य एक ब्याटरको राम्रो प्रदर्शन बिना कुनै पनि टोलीलाई जित निकाल्न कठिन पर्दछ । तर नेपालका शीर्ष चार ब्याटर रोहित र अर्जुनलाई छाड्दा कुशल भुर्तेल ८ र ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।

कम्तिमा एक ब्याटरले एउटा ठूलो इनिङ खेलेको हुनुपर्छ । तर त्यो नेपाली ब्याटरबाट हुन सकेन । त्यसैको कारण विशाल योगफलमा पुग्न सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर