दमक/ आर्थिक बर्षको अन्त्यतिर धमाधम चलिरहेका धेरै बिकासका योजनाहरुमा निर्माण पक्षले लापरवाही गरिरहेको पाइएको छ । सडक कालोपत्रे, पक्की ढल निर्माणका योजना हुन वा लकिङ टायल बिछयाउने योजनाहरु हुन अधिकांश योजनामा तोकिएको मापदण्ड नपुरयाई गुणस्तरहीन काम गर्ने क्रम देखिएको हो । धमाधम काम सम्पन्न गरेको रिपोर्ट तयार गरेर बजेट भुक्तानी लिन धाउने प्रयास निर्माण पक्ष र कतिपय उपभोक्ता समितीहरुले गर्ने गरेको पाइन्छ ।
दमकको वडा नं २ स्थित देवीथान मार्गको किनारमा बनाईएको रिटेनिङ वाल गुणस्तरहीन हुँदा भत्किएको छ ।

चालू आर्थिक बर्ष २०७९÷०८० को वडा नं २ को सिलिङ बजेट अन्तर्गतको १० लाख रुपैयाँ लागतमा बनाइएको पक्की पर्खाल भत्किएको छ । सम्बन्धित क्षेत्रका उपभोक्ताहरुले दमक नगरपालिकाबाट ठेक्का प्रकृया पुरा गरेर सञ्चालन भएको सो योजना अन्तर्गत बनेको संरचना गुणस्तरहीन भएका कारण भत्किदा नोक्सानी भएको बताउँदै सो सम्बन्धि काम पुनः गराइनु पर्ने बताउँदै आएका छन ।

दमक २ का वडाध्यक्ष प्रजापती सापकोटाले त्यहाँको संरचना निर्माण शुरु गरिँदानै कमसल सामग्रीको प्रयोग भएको आफूले देखेको बताए । वडाध्यक्ष सापकोटाले भने– मैंले पहिलानै यो काम राम्रो भएको छैन भनेर काम रोक्न भनेको हुँ तर टेरेनन । उनले सो योजनाको भुक्तानीका लागि आफूले सिफारिस नगरेको र यथास्थितीमा नगर्ने पनि प्रतिबद्धता जनाए ।

त्यसैगरी झापाको कमल गाउँपालिका वडा नं ७ को बाह्रघरेहुँदै रङ्गपुर –गुहाबारी जोड्ने कालोपत्र सडक कालोपत्रे भएको हप्ता दिन नपुग्दै भत्किन थालेको छ । करिव १८ करोड लागतमा बनेको कालोपत्र सडक पूर्ण रुपमा तयार नहुदै ठाउँ ठाउँमा कालोपत्रका भागहरु भत्किन थालेको हो । सो योजनाका बिषयलाई लिएर स्थानीयबासीहरु कडा विरोधमा उत्रिएका छन ।

सडक डिभीजन कार्यालय दमक मार्फत जे एण्ड जे कम्पनीले निर्माण गरेको कालोपत्रे सडक मापदण्ड अनुसार नहुदाँ भत्किन थालेको स्थानीयको आरोप छ । त्यहाँ स्थानीयबासीहरुले सम्बन्धित निकायको ध्यान जानु पर्ने आवाज उठाएका छन । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सो योजना पालिका मातहतमा सञ्चालन भएको योजना नभएपनि स्थानीय नागरिकहरुले उठाएको आवाजलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन । उनले आज सम्बन्धित क्षेत्रका बासिन्दाहरुसँग भेटेर सडक मापदण्ड अनुसार गुणस्तरीय बनाउन सडक डिभिजन कार्यालय दमकका प्रमुखसहित प्राविधिकहरुको ध्यानाकर्षण गराइएको बताए । सो सडकको स्थलगत जानकारी लिएपछि उनले सडक डिभिजन कार्यालय दमकका प्रमुखसँग छलफल गरी योजना मापदण्ड अनुसारको गुणस्तरीय नभए एक्सनमा उत्रिने चेतावनी दिएका छन ।

७ नम्बर वडा कार्यालयले कालोपत्रको काममा भएका त्रुटि स्वीकार गदैं त्यसमा सुधार गरि काम थालिसकेको जनाएको छ । वडाअध्यक्ष पृथीपति राईले बाह्घरे,रंगपुर हुदै गुहावारीतर्फ जोडिने सडक कालोपत्रको काममा केहि कमजोरी हुन पुगेकोमा सम्बन्धित पक्षलाई जानकारी गराई तुरुन्त करेन्कसन गर्न लगाई काम अघि बढाईएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय