काठमाण्डाै – यसपालिको मनसुनमा प्रि-मनसुनको जस्तो गतिविधि देखिएको छ । प्रि-मनसुनमा एक ठाउँमा ठूलो पानी परे पनि नजिकैको ठाउँमा पानी नपर्ने हुन्छ । अहिले मनसुनमा पनि यस्तै गतिविधि देखिएको छ । एक ठाउँमा ठूलो वर्षा भएर बाढी आउँदा पनि नजिकैको आसपासका क्षेत्रमा पानी परेको छैन ।

हिजो काठमाण्डौको कपन क्षेत्रमा बाढी आउने गरी वर्षा भएको थियो तर अन्य क्षेत्रमा भने खासै पानी परेन । देशका अन्य ठाउँमा पनि यस्तै भइरहेको छ । सामान्यतया मनसुनमा एकै पटक लगातारजसो धेरै ठाउँमा पानी पर्ने हुन्छ । तर यसपालि अहिलेसम्म त्यस्तो नदेखिएको मौसमविद् गोविन्द झा बताउनुहुन्छ ।

मनसुन भित्रिए पछि केही ठाउँमा बाढी पहिरो आउने गरी पानी परेको छ भने केही ठाउँमा सुक्खा छ । तराई मधेसका धेरैजसो ठाउँमा असारको अन्तिम हुन लाग्दासमेत पानी परेको छैन ।

यस्तै, मध्य क्षेत्रमा मनसुन भित्रिएको शुरुवातमा वर्षा भए पनि अहिले पानी परेको छैन । पानी नपर्दा धान रोपाइँ नै प्रभावित भइरहेको छ । किसान पानीको पर्खाइमा छन् । जलवायु परिवर्तन लगायतका कारण मौसममा समेत असर परिरहेको तर, यस विषयमा अध्ययन हुन बाँकी नै रहेको मौसमविद् बताउँछन् ।

मनसुन सक्रिय हुने क्रममै रहेकाले अहिले नै पानी पर्ने अवस्थालाई तुलना गर्न नमिल्ने मौसमविद्को भनाइ छ । मौसमविद्का अनुसार गएराति कर्णाली, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।

आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार आजभन्दा भोलि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पानी परेका ठाउँमा बाढी पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय