काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि पूर्ण बदली रहनाका साथै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मद्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी केही दिनसम्म बदली र वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

मौसमविद् मानन्धरका अनुसार पश्चिमी वायुको प्रभाव कायमै रहेको र न्यून चापीय रेखा नेपाल नजिक भएकाले अबका केही दिन वर्षाको सम्भावना छ । “देशभर मनसुनी वायुको प्रभाव रहेको छ, त्यस्तै न्यूनचापीय रेखा अहिले देशको पूर्वी भाग नजिक रहेकाले त्यसको अलि बढी असर देखिएको छ, न्यून चापीय रेखा जतातिर नजिक छ त्यहाँ बदली र वर्षा बढी हुन्छ, तुलनात्मक रुपमा पूर्वमा भन्दा पश्चिमतिर न्यूनचापीय रेखा दूरी बढी रहेकाले पूर्व क्षेत्रमा बढी वर्षाको सम्भावना देखिन्छ ।”

मनसुनी वर्षाले यातायात तथा हवाई उडान, पर्यटन कृषिलगायत क्षेत्रमा असर पर्नसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।