काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज सामान्यदेखि मध्यम तथा थोरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भू-भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भन्दै विभागले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।