काठमाडौँ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै गरिने भएको छ ।

एमालेका उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टिि बिहीबार गरिने बताए । उनका अनुसार नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ । घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिनेछ ।

नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरिसकेको छ । साथै अन्त्येष्टिका दिन शोक बिदा दिने निर्णय सरकारले गरेको छ ।

नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकले नेम्वाङको निधनमा तीन दिनका लागि औपचारिक कार्यक्रम स्थगित गर्नुका साथै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

नेम्वाङको सोमबार राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । नेम्वाङका २ छोरा र २ छोरी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय