अनलाइन सट्टेबाजी (बेटिङ) मार्फत अबैध रुपमा करोडौं कारोबारमा संलग्न झापा दमक ७ का एक युवक पक्राउ परेका छन ।
बेटिङमार्फत २४ करोड रुपैयाँबराबरको कारोबार गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले इलाका प्रहरी कार्यालय दमकसँगको समन्वयमा बिहीबार साहलाई दमकबाटै पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले साहले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १ सय ३८ रुपैयाँको बेटिङ कारोबार गरेको दाबी गरेका छन । साहले वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काई चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता दर्जनभन्दा बढी वेबसाइटहरूमार्फत बेटिङ गर्न लगाएको र अवैध असुली गरेको प्रहरीले जनाएको छ । ‘उनले अरूलाई बेटिङ गर्न लगाएको, सट्टेबाजीजस्ता अनलाइन खेल खेलाएको प्रमाणित हुन्छ,’ एसपी रेग्मीले भने, ‘ उनले सबै कारोबार नेपाल राष्ट्र बैंकको नियम विपरीत गरेको पाइएको छ ।’
अभियुक्त साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको प्रहरीले जनाएको छ । निष्कर्ष न्यूज बाट साभार