नेकपा एमालेले असोज दुई गते हुने तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा भारतले चलखेल गरेको गम्भीर आरोप लगाएको छ । बुधबारको व्यवस्थापिका संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भीम रावलले सो आरोप लगाएका हुन् ।
सांसद रावलले वीरगञ्जस्थित भारतीय दूतावास र वाणिज्यदूतले आसन्न स्थानीय चुनावमा चर्को चलखेल गरेको आरोप लगाए । उनले यो सवालमा सरकारले तुरुन्त जवाफ दिनुपर्ने माग समेत गरे ।
सांसद रावलले भारतीय वाणिज्य दूतावासले चुनावमा उठेका उम्मेद्वारहरुलाई बोलाउने र हप्कीदप्की गर्ने जस्ता अमानवीय क्रियाकलाप गरेको आरोप लगाए ।
उनले भारतीय महावाणिज्य दूतावासको यो क्रियाकलाप कुटनीतिक मर्यादा विपरित भएको समेत स्पष्ट पारे । उनले कुनै पनि कुटनीतिक नियोग र कुटनीतिज्ञहरुले भियना सन्धी उल्लंघन गरे देश निकाला गर्न सकिने समेत स्पष्ट पारे ।
सांसद रावलले भारतीय कुटनीतिज्ञहरुको यस्तो व्यवहार परराष्ट्र मन्त्रालयलाई थाहा नभए अविलम्ब जानकारी गराउन समेत सदनसमक्ष आग्रह गरे ।



