विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका लागि कोशी प्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। कोशी प्रदेशसभाको आजको बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि मुख्यमन्त्री कार्कीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले नेकपा (एमाले) संविधानको सर्वोच्चताको पक्षमा जहिले पनि उभिने प्रतिवद्धता व्यक्त गर्दै कोशी प्रदेशका जनताले निर्वाचन नचाहेकाले राजीनामा दिएको उल्लेख गरे। उनले अहिलेको नजिर र जटिलताको नजरअन्दाज भएमा मध्यावधिमै जाने निश्चित रहेको उल्लेख गर्दै निर्वाचनलाई रोक्न तथा स्थिर सरकार बनाउन राजनीतिक दलहरुबिच सहमति सहकार्य र एकता हुनु आवश्यक रहेकाे बताए ।

कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सहमति र सहकार्य गरेर नै सरकार बनाउनु उत्तम विकल्प भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । मुख्यमन्त्री कार्कीले गत भदौ २२ गते पद तथा गोयनीयताको शपथ लिएका थिए । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा (एमाले)का उपसभामुखसहित ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक र राप्रपाका ६ प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय