झापा । भारत सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमताल मंगलबार राति फुट्दा टिस्टा नदीमा बाढी बनेर बग्यो। नजिकैको एउटा बाँधबाट समेत थप पानी त्यसै समय छोडिएपछि बाढीले उग्ररूप लियो। यो एउटा हिमताल फुट्दा निम्तिएको संकट थियो।

पछिल्लो समय कञ्चनजंघा हिमालमा निरन्तर हिउँ पग्लँदा र मौसमी परिवर्तनका कारण मुसलधारे वर्षा हुँदा नेपाल र भारतका हिमताल उच्च जोखिममा रहेको विज्ञहरू बताउँछन्। भारतको केन्द्रीय नापी विभागले पनि कञ्चनजंघा हिमाल क्षेत्रमा रहेका हिमतालले नेपाल र भारत दुवैतर्फ संकट निम्त्याउन सक्ने जनाएको छ। यो यसकै एउटा घटना भएको भारतीय जलवायु विज्ञ तथा वैज्ञानिक ए बनेर्जीले बताए।

केहीअघि हिमनदी, हिमताल र हिमाली हावापानीबारे अध्ययन गर्दै आइरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको एउटा अध्ययन रिपोर्टले पनि नेपाल हिमताल र हिमनदीबाट ठूलो जोखिममा रहेको देखाएको थियो। झन्डै ३ वर्ष लगाएर गरेको सो अध्ययनअनुसार कुनै पनि समय फुट्न सक्ने धेरै हिमतालको पहिचान भएको छ। सो अध्ययनले नेपालभित्रै तथा चीन र भारतमा रहेर पनि मानव बस्तीलाई क्षति पुर्‍याउन सक्ने तीन हजार ६ सय २४ ग्लेसियर हिमताल पत्ता लगाएको थियो।

यसमध्ये कोसी जलाधारअन्तर्गत धेरै हिमताल देखिएका छन्। कोसी बेसिनअन्तर्गत ६४ हिमताल भेटिएको छ। यस्तै, कर्णाली बेसिनमा एक हजार एक सय २८ र गण्डकी बेसिनमा ४ सय ३२ हिमताल छन्।

स्याटलाइट इमेज (भू–उपग्रहमार्फत लिइएको तस्बिर) र अरू धेरै माध्यमबाट गरिएको अनुसन्धानले ४७ वटा हिमताल कुनै पनि समय फुटेर नेपालतर्फको मानव बस्तीलाई ठूलो क्षति पुर्‍याउन सक्ने उच्च जोखिममा देखिएका छन्।

मंगलबार फुटेको ल्होनाक हिमताल ताल करिब साढे दुई किलोमिटर लम्बाइ र आधा किलोमिटर चौडाइमा फैलिएको छ। यसको गहिराई १० तले भवनको बराबर रहेको मानिएको छ। धेरै वर्ष पहिलादेखि नै त्यहाँका विज्ञहरूले यस क्षेत्रमा बनेका १४ वटा हिमतालहरूमध्ये ल्होनाक तालको पहिचान गरेका थिए। जुन हिमताललाई अति संवेदनशीलको सूचीमा राखिएको थियो।

केही वर्ष अघिसम्म यो सानो हिमताल थियो। तर, ग्लेसियर पानीको कारण यो तालको आकार वर्षौंदेखि असाधारण रूपमा तीव्र गतिमा विस्तार हुँदै गयो। यो हिमताल समुद्र सतहबाट ५ हजार २ सय मिटरको उचाइमा रहेको छ। भविष्यमा यो तालमा क्षमताभन्दा पानीको मात्रा बढी भयो वा बादल फुट्यो भने, यसले विनाश ल्याउँछ भनेर विज्ञहरूले पहिलै चेतावनी दिइसकेका थिए। त्यो चेतावनी अहिले सिक्किमे जनताका लागि साबित नै भयो।
केन्द्रीय नापी विभागले पनि यस स्थानको निरीक्षण गरी यो हिमताल विस्फोट भएर तल खसेको खण्डमा बाढीको उच्च जोखिम रहेको भनी जानकारी गराइसकेका थिए। यो तालको बारेमा जतिपटक चेतावनी दिइएको छ, त्यो चेतावनी केही वर्षअघिको होइन, दशकौंदेखिको हो। किनभने, पहिलोपटक यसको तस्बिरहरू केन्द्रीय गुप्तचर एजेन्सी र संयुक्त राज्य वायु सेनाले सन् १९६० र १९७२ को बीचमा संकलन गरेका थिए।

त्यसपछि उनीहरूले यो ताललाई हिमनदीको मुखमा रहेको सुपरग्लासियल तालको रूपमा देखे। सन् १९७७ ल्यान्डस्याट कार्यक्रमको मल्टिस्पेक्ट्रल स्क्यानरमा यसलाई अति संवेदनशील तालको रूपमा पहिचान गरिएको थियो। सन् १९७७ मै यो तालको क्षेत्रफल १७ दशमलव ५४ हेक्टर थियो।

सन् २००८ मा मूल्यांकन गर्दा यो तालको क्षेत्रफल बढेर ८१ दशमलव १ हेक्टर भयो। सिक्किमको अस्तव्यस्त पहाडी क्षेत्रमा रहेको यो तालबाट पानी तीव्र गतिमा तल झर्ने सम्भावना रहेकाले यसलाई खतराको सूचीमा राखिएको थियो। दुई वर्षअघि अर्थात् सन् २०२१ मा यो ताल बढेर १२६ हेक्टर भयो।

जसको लम्बाइ साढे दुई किलोमिटर र चौडाइ ६ सयदेखि ७ सय मिटर बन्यो। जलवायु परिवर्तन असरले तालको विस्तार र पानीको मात्रा बढ्दै गएको कारण भारतका विज्ञहरूले चिन्ता व्यक्त गर्न थालिसकेका थिए। राज्यको रिमोट सेन्सिङ एप्लिकेसन सेन्टरका वैज्ञानिकहरूको टोलीले ५ वर्षअघि यो तालको पूर्ण अनुसन्धान गरेको थियो। अन्ततः अक्टोबर ३ तारिख मंगलबार राती १० बजेर ४० मिनेटमा ल्होनाक हिमताल विस्फोट भयो । तालको पानी तीव्र गतिमा तल झरेर अक्टोबर ४ तारिख बुधबार मध्यराती १ बजे लाचेन नदी हुँदै टिस्टा नदीसम्म पुग्यो । टिस्टा नदीको पानीको गति रोक्न र मापन गर्न राज्य सरकारले मंगल जिल्लामा करोडौँ रकम खर्चिएर चुंगथांग ड्याम निर्माण गरेका थिए । तर, टिस्टामा आएको बाढीले चुंगथांग ड्याम भत्काएर सिक्किमसँगै पश्चिम बंगालका विभिन्न शहरमा विनाश निम्तायो ।

टिस्टामा बाढी आए लगतै भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले ल्होनाक हिमताल ६० प्रतिशत पानी घटेको रिपोर्ट जारी गरेको छ । इसरोले सेटलाइटमार्फत लिएको तालको अघिपछिको फोटोहरू (पनि) बुधबार बेलुका नै सार्वजनिक गरिसकेको छ । इसरोले उपग्रहद्वारा खिँचिएको फोटो अनुसार १७ सेप्टेम्बरमा १६२ दशमलव ७ हेक्टर, २८ सेप्टेम्बरमा १६७ दशमलव ४ हेक्टर र ४ अक्टोबरमा ६० दशमलव ३ हेक्टर ताल फैलिएको फोटोहरू सार्वजनिक गरेको हो । १०५ हेक्टर क्षेत्र बगेर टिस्टामा बाढीको रूप लिएको इसरोको रिपोटमा उल्लेख गरिएको छ ।
भारतीय वैज्ञानिक ए बनेर्जीका अनुसार जसरी जलवायु परिवर्तनको असर पृथ्वीमा देखिन थालिएको छ, आउँदो दिनहरूमा हिमालय क्षेत्रहरूमा रहेका ग्लेशियलहरु पग्लिएर पहाडी क्षेत्रमा यो भन्दा बढी विनाश हुने सक्ने चेतावनी दिएका छन् ।

‘सिक्किममा यो भन्दा पनि बढी खतरा आउन सक्छ, त्यसैले प्राकृतिक विपद्बाट सिक्किमलाई बचाउन बेलै तालहरूको अध्ययन गर्नुपर्छ र त्यसलाई रोक्नुपर्छ,’ उनले भनेका छन् । सटिजन एक्सन पार्टी सिक्किमका प्रवक्ता महेश राईले एक विज्ञप्ति जारी गर्दै विश्वकै सबैभन्दा छिटो बढ्ने खालको ग्लेशियल पग्लिएर बनेको हिमताल हो । यो हिमताल कुनै पनि समय विस्फोट हुनसक्ने जानकारी राज्य सरकारलाई युरोपेली वैज्ञानिकहरूले समेत दिएका थिए । तर, राज्य सरकारले कुनै चासो नदेखाई लापरबाहीका कारण आज यस्तो ठुलो दुर्घटना हुन गयो ।

टिस्टा नदी किनारमा अवस्थित बस्ती र बजारहरूले धेरै वर्षदेखि कटानको खतरा र जोखिम रहेको भनी हाम्रो पार्टीले राज्य सरकारलाई जानकारी गराएको पनि हो । तर, राज्य सरकारले यसलाई गम्भीरतापूर्वक नलिँदा ठुलो धनजनको क्षति सिक्किमे जनताले भोग्नु परेको विज्ञप्तिमा भनिएको छ । यता राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलले पूर्व सरकारले गुणस्तरहीन चुंगथांग ड्याम निर्माण नगर्दा सिक्किमे जनताले अहिले ठुलो धनजनको क्षति व्यहोर्नु परेको आरोप लगाएका छन् । पहिला नै यो ड्याम मजबुतसँगै गुणस्तरीय बनाएको भए अहिले यति ठुलो धनजनको क्षति हुँदैन थियो, मुख्यमन्त्री तामाङले भने, ‘यसअघिका पूर्व सरकारले सब स्ट्यान्डर्ड ड्याम मात्र बनायो, त्यस बेला ५ हजारदेखि १३ हजार करोड बजेटसम्म खर्च गरियो, यति रकम खर्चिएर बनाउँदा पनि विनाशलाई रोक्न सकेन, यो जनताको लागि दुर्भाग्य हो ।’ उत्तर सिक्किमको लागि राज्य सरकारले तत्काल राहत प्याकेजको घोषणा गरेको जानकारी गराउँदै उनले भने, ‘मंगाल जिल्लालाई २५ करोड, पाकिम, गान्तोक र नाम्ची जिल्लालाई १५/१५ करोड रुपैयाँ दिन्छौँ ।’ अहिले पनि सेनाको सहायता उद्धार कार्य जारी भइरहेको छ । ‘फसेका करिब ३ हजार पर्यटक, ८ सय बढी चालकहरू फसेको र पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार गरिरहेको छौँ,’ उनले थपे । बाढीले हजारौँ करोड बढी रकम बराबरको क्षति भएको र त्यसको विस्तृत विवरण अझै नआइपुगेको उनले बताए ।
अहिलेसम्म बाढीमा परी ७ सैनिकसहित १९ जनाको मृत्यु भइसकेको छ, भने १५ सैनिकसहित १०३ जना अझै बेपत्ता रहेका छन् । २२ हजार ४ सय ६४ जना प्रभावित बनेको उनको भनाई छ । मुख्य राजमार्ग क्षतिग्रस्त हुँदा पश्चिम बंगालको सिलीगुढी र सिक्किम जोड्ने वैकल्पिक सडक सञ्चालनमा आइसकेको जनाइएको छ ।

सन् १९६८ अक्टोबर २ देखि ५ तारिख सम्म भारी वर्षा हुँदा टिस्टा नदीमा यस्तै बाढी आएको थियो । त्यस बेला नदीमा आएको बाढीले सिक्किम र पश्चिम बंगालका विभिन्न जिल्लामा ठुलो धनजनको क्षति भएको थियो । अहिले ५५ वर्षपछि फेरि टिस्टा नदीमा आएको बाढीले जनतालाई त्यही भयावह घटनाको स्मरण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय