लक्ष्मि काफ्ले
बिर्तामोड/एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएदेखि नै कांग्रेसले निरन्तर संशोधनको कुरा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । संविधान कार्यान्वयन गर्नुपर्ने समयमा सरकार संशोधनकै रटानमा अल्झिएको उनको भनाइ थियो । संविधान जारी हुनेबित्तिकै शुसील कोइरालाले जबरजस्ती संशोधनको केही बुँदाहरु अघि सारेको ओलीले बताए । देउवा नेतृत्वको सरकार पनि संविधान संशोधनका कुरामै अल्झिएको ओलीको आरोप छ ।

‘प्रधानमन्त्री बनाइदिनुस् पहाड र तराई छुट्याउँछौँ भनेर लम्पसार परेका थिए, त्यही भएर अहिले पनि संविधान संशोधन गर्न तम्सिँदैछन्,’ प्रधानमन्त्री शेरबहादुर देउवाको नाम नलिइ ओलीले भने, ‘कांग्रेस, माओवादी र मधेसी मोर्चाले जसरी पनि संविधन संशोधन गर्ने भनेर कागज नै गरेका छन् ।’

झापाको सदरमुकाम भद्रपुरमा एमालेका अगुवा कार्यकर्तालाई बुधबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले पहिले ३ पटक प्रधानमन्त्री भइसकेको व्यक्ति मरिहत्ते गरेर संविधान संशोधन गराउनकै लागि फेरि प्रधानमन्त्री बनेको भन्दै देउवाको तीव्र आलोचना गरे । प्रधानमन्त्री भएर पनि देउवा गड्यौलाजस्तै लम्पसार परिरहेको ओलीको भनाइ थियो । राष्ट्रिय सभामा स्थानीय तहका प्रमुखले भोट हाल्न पाउने अधिकार पनि सरकारले काट्न खोजिरहेको ओलीले दाबी गरेका छन् ।

प्रदेश नम्बर २ मा स्थानीय तहको चुनाव हुन्छ कि हुँदैन भनेर जनता अझै अन्यौलमा रहेको आलीको भनाइ छ । प्रदेशको चुनाव गर्न पनि बाँकी नै रहेका बेला सरकार संविधान संशोधनकै कुरामा अल्झिएको उनले बताए । ‘संशोधन गर्नुपर्ने जरुरी कुरो केही छैन,’ उनले भने, ‘यिनीहरु पहाड र तराई टुक्र्याउन खोज्दैछन्, एमालेले कदापी त्यसो हुन दिँदैन ।’ संविधान संशोधन गर्ने कुरामा कांग्रेसले अति नै जिद्दी गरेको उनले सुनाए । अहिले संविधानको कार्यान्वयनका बेलामा पनि संविधान संशोधन गर्न तम्सिएर नेपालको राष्ट्रिय एकता विरुद्ध देशलाई क्षतविक्षत बनाउने षड्यन्त्र भइरहेको उनले बताए ।

एमाले बाहेक अन्य पार्टीका सांसद्हरुले पार्टीका केही नराम्रा गतिविधिलाई पनि साथ दिइरहेको ओलीले बताए । कतिपय पार्टी र तिनका कार्यकर्ता देखेर आफूलाई माया लाग्ने गरेको उनको भनाइ थियो । ‘यो देशको पक्षमा छु भन्ने हुती भएको सांसद् अरु पार्टीमा एउटा देखिँदैन,’ उनले भने, ‘पार्टीबाट नराम्रो प्रस्ताव आएको छ भने पनि घोसे मुन्टो लगाएर, भुइँतिर हेरेर मलामी हिँडेजस्तो लुरुलुरु हिँड्ने मात्र सांसद् छन् ।’

कुनै समय कांग्रेसमा राम्रा मान्छे पनि रहेको स्मरण गर्दै ओलीले अहिलेको कांग्रेसमा राम्रो भन्ने केही पनि बाँकी नरहेको बताए । कांग्रेसलाई उनले ‘थला परेको बाघ’को संज्ञा दिए । ‘त्यो थला परेको बाघलाई लात्ती हानेर हिँड्दा टाउको उठाएर हेर्न पनि सक्दैन,’ ओलीले भने ।

जनताले कांग्रेसलाई पनि भोट हालेको देखेर आफू अचम्ममा परेको ओलीले हाँस्दै सुनाए । कांग्रेससँग योजना, दृष्टिकोण अब बाँकी नरहेको ओलीले जिकिर गरे । एमालेले विकासका कुरा गर्दा कांग्रेसले मजाकमा उडाइदिएको भन्दै उनले आपत्ति जनाए । कांग्रेसलाई उनले ‘बेत बसेको गाई’ सम्म भन्न भ्याए । ‘पराहार बेत बस्या गाईलाई अहिले घाँस हाल्दा दूध दिन्छ ?,’ उनले भने, ‘जनताले के हेरेर कांग्रेसलाई भोट दिए, छक्क परेँ म ।’

८० प्रतिशत जनताले संविधानसभाको निर्वाचनमा मतदान गरेर जारी भएको संविधान कार्यान्वयन हुन नदिन अनेक षड्यन्त्रकारीहरु सल्बलाइरहेको ओलीले बताए । ठूल्ठूला तागतले पनि संविधान जारी हुनबाट रोक्न नसकेको स्मरण गर्दै उनले यो संविधान कार्यान्वयन भएरै छाड्ने दृढ अठोट व्यक्त गरे ।

यसो भने ओलीले–

– एमालेले विकासका कुरा गर्छ, कांग्रेस त्यसलाई उखान टुक्का हो भन्दै हिँड्छ ।
– हामी पूर्व–पश्चिम विद्युतीय रेल चलाउने भन्छौँ । त्यसको जवाफ कांग्रेसले दिन्छ । रेल चलाउनुपर्छ भन्दैन । ‘यस्ता उखान टुक्काले देश चल्छ !’ भन्छ ।
– यो देशको स्वाभिमानका लागि लडौँ भन्छ एमाले, उखान टुक्काले देश चल्ने भए कलाकारलाई ल्याएर राखे भैगो नि भन्छ कांग्रेस ।
– हामी खेतहरुमा सिँचाइ पु¥याउनुपर्छ भन्छौँ । ‘हँसायो बा… एमालेले हँसायो’ भन्छ कांग्रेस । कांग्रेससँग कुनै कार्यक्रम पनि छैन ।
– अहिले पहाड र तराई टुक्र्याउने प्रस्ताव आइरहेको छ । सांसद्हरु भन्छन्– चित्त त बुझ्या छैन, तर के गर्नु पार्टीको कुरा हो !

 

नयाँपत्रिका अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah