प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम छिटो सक्न निर्देशन दिएका छन् । आयोजनाको अम्बाथान इन्टेक र सुरुङको निरीक्षणपछि कार्यकारी निर्देशक र प्राविधिकलाई देउवाले भने, ‘तपाईंहरू बोल्नुस्, पैसा कति चाहिन्छ ? त्यो सरकारले मिलाउँछ । तर, काम छिटो सक्नुस् ।’ हिल कटिङ र बाँधस्थलबारे ब्रिफिङ गरिरहेका प्राविधिकलाई रोकेर देउवाले जंगिँदै भने, ‘तपाईंहरू बोल्नुस्, पैसा कति चाहिन्छ ? त्यो सरकारले मिलाउँछ । तर, काम छिटो सक्नुस् ।’ पूर्वनिर्धारित समयभन्दा चार घन्टा ढिलो गरी नाइन एन राज हेलिकोप्टरबाट मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स स्थल उत्रेका देउवाले पौने एक घन्टा हेडवक्र्स स्थल (जहाँ बाँध बन्दै छ)को एक सय ५० मिटर लामो सुरुङको बाहिरबाटै हिँडेर निरीक्षण गरेका थिए ।
निरीक्षणको क्रममा उनले आयोजनाको काममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका छन् । ‘सन् २००१ मा सुरु भएको आयोजनाको काममा किन ढिलासुस्ती भयो ?’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र इटालियन कन्स्ट्रक्सन कम्पनी (सिएमसी)का प्रमुख प्राविधिकले प्रधानमन्त्रीको प्रश्नको जवाफ दिएनन् । प्रधानमन्त्रीले थपे, ‘काममा भएको ढिलासुस्तीको उचित जवाफ सरकारलाई दिनुस् । आवश्यक सहयोग गर्न म जतिवेला पनि तयार छु ।’
प्रधानमन्त्रीका साथ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव र सिन्धुपाल्चोक क्षेत्र नं. ३ का सांसद शेरबहादुर तामाङ पनि निरीक्षणमा आएका थिए ।
निरीक्षण कति प्रभावकारी ?
प्रधानमन्त्री फेरिएपिच्छे आयोजनाको सुरुङ र विभिन्न निर्माणस्थलको निरीक्षण हुने गरेको छ । आयोजनाले काठमाडौंमा चाँडै पानी पुर्याउने प्रतिबद्धता व्यक्त गरेको पनि कैयौँपटक भइसकेको छ ।
गत वर्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निरीक्षणमा आउँदा आयोजनाले ०७४ को सुरुमै काठमाडौंमा पानी पु¥याउने बताएको थियो । त्यसअघिका प्रधानमन्त्री निरीक्षणमा आउँदा पनि यस्तै प्रतिबद्धता आयोजनाले जनाउने गरेको थियो । तर, सुरुङमा काम गर्ने इन्जिनियर र कामदारको भनाइअनुसार पानी पुग्न अझै लामो समय कुर्नुपर्नेछ । २६ दशमलव ५ किलोमिटर सुरुङमध्ये २२ सय मिटर खन्न अझै बाँकी छ । सुरुङ निर्माण सकिए पनि त्यसको फिनिसिङ गर्न समय लाग्छ । अर्कोतिर बाँधस्थलको काम आधा पनि सकिएको छैन ।
मन्त्रालयमै वार्ता आह्वान
सिएमसीद्वारा पीडित नेपाली ठेकेदार कम्पनीले प्रधानमन्त्री उड्नै लाग्दा हतारमा ज्ञापनपत्र पेस गरेको थियो । आयोजना र सिएमसी मिलेर नेपाली व्यवसायीको माग प्रधानमन्त्रीसमक्ष पेस गर्ने अवसरलाई रोक्न खोजेको आरोप ठेकेदारले लगाएका छन् । प्रधानमन्त्रीको निरीक्षणपछि काममा केही समय तीव्रता आउन सक्ने उनीहरू बताउँछन् । सिएमसीले १९ नेपाली व्यावसायिक फर्मलाई दुई वर्षदेखिको ५० करोड भुक्तानी दिन अटेर गरेपछि ठेकेदारले गत शुक्रबार साइट कार्यालय मेलम्चीमा तालाबन्दी गरेका थिए । तर, प्रधानमन्त्री आउने भएपछि मंगलबार ताला खोलिएको थियो ।
नेपाली व्यवसायीको मागबारे बिहीबार खानेपानी तथा सरसफाइ मन्त्रालयमा वार्ता आह्वान गरिएको छ । वार्तामा मेलम्ची खानेपानी आयोजना, ठेकेदार कम्पनी सिएमसी, प्रमुख जिल्ला अधिकारी, कन्सल्टेन्ट निकाय र पीडित व्यवसायी पक्षबीच मागबारे छलफल हुने भएको हो । वार्ता नमिले शुक्रबारदेखि पुनः तालाबन्दी र सबै काम बन्द गराउने नेपाली व्यवसायीले बताएका छन् ।
फागुनमा मात्रै आउँछ पानी
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार मेलम्चीको पानी फागुनमा मात्र उपत्यका प्रवेश गर्न सक्छ ।
खानेपानीको सुुरुङ खन्न अब २.१९ किमि बाँकी छ । अहिले सुरुङ खन्ने काममा प्रतिदिन १६ मिटर प्रगति भइरहेको छ । कमजोर चट्टान र पुरानो मेसिन भएकाले कामको गति घट्दो छ । कमजोर चट्टानमा कामको गति बढाउन खतरा पूर्ण मानिन्छ ।
सुरुङ पुससम्म मात्रै पूरा हुन सक्छ । खनिएको सुरुङमा तत्काल पानी पठाउन मिल्दैन । प्लास्टर तथा मेन्टिनेन्स गर्नुपर्छ । यसका लागि थप तीन महिना लाग्छ । नया पत्रिका बाट



