पुरुषसँगै नारीलाई शक्तिको रुपमा महत्व दिएर पूजा र प्रार्थना गर्ने परम्परा निकै प्राचीन हो । शक्ति रूपलाई पूजा गर्ने परम्पराले त्यसबेलाका नारीप्रतिको समान अस्तित्व स्वीकार गरेको देखिन्छ । संसारका प्राचीन सभ्यताहरुमा पनि नारीलाई शक्तिका रुपमा उपासना गरेको देखिन्छ । त्यसबेला प्राप्त नारी मूर्तिहरूले यस सत्यलाई प्रमाणित गर्छन । सिन्धु सभ्यताको उत्खननमा प्राप्त स्त्री मूर्ति तथा मोहरमा अंकित छापबाट उस बखत शक्ति पूजाको परम्परा भएको स्वीकार्न सकिन्छ ।

हिन्दुहरूको सर्वप्राचीन ग्रन्थ वेदमा विभिन्न देवताको नामका साथै शक्तिदेवीको विवरण पाइन्छ । ऋग्वेदमा राची, उषाको साथै वाकदेवीको नामबाट त्यसबेला देवीको पूजा प्रार्थना गर्ने परम्परा रहेको देखिन्छ । राची इन्द्र पत्नी, उषा अरुणोदय देवी तथा वाकदेवीलाई विभिन्न देवताकी शक्तिको रुपमा उल्लेख गरिएको छ ।

यस्तै उपनिषद्हरूमा पनि शक्तिपूजाको विस्तृत विवरण पाइन्छ । खास गरेर उपनिषद्मा दार्शनिक तत्त्वहरूको उल्लेख हुनाले त्यसबेला नारी शक्तिलाई प्रकृति र पुरुषको शक्तिका रुपमा मान्न थालेको देखिन्छ । उपनिषद्को एउटा कथाअनुसार देवीको परिचय माग्दा उनी भन्छिन– ‘म ब्रम्हाको रुप हुँ , म बाटै प्रकृति र पुरुषको रुप यो चराचर जगतको उत्पत्ति हुन्छ ।’ यस्तै केन उपनिषद्मा रुद्रको साथसाथै उमा हेमवतीको पनि उल्लेख पाइन्छ । यिनैलाई पछिका ग्रन्थहरुले शिवकी शक्तिको रुपमा स्वीकार गरेका छन् ।

खास गरेर उनिषद्पछि शक्ति देवीको मान्यतामा वृद्धि हुन गयो । साथसाथै यसबेलातिर शक्तिको स्वतन्त्र अस्तित्वको विकास हुन गएको थियो । ब्राम्हण साहित्य तथा सूत्र साहित्यका अरु अनेक सौम्य रूपहरूको पनि विकास सँगै अनेक नामसँग उनको तादात्म्य कायम भयो । उपनिषद्ले प्रतिपादन गरेको सांख्य दर्शनको विकास भएपछि प्रकृतिलाई पुरुषको अपेक्षामा बढी क्रियाशील ठानियो ।

महाभारतमा शक्ति पूजाको अझ महत्व रहेको देखिन्छ । महाभारतको भीष्म–अर्जुन युद्धमा विजय प्राप्त गर्न श्रीकृष्णका परामर्शअनुसार देवी दुर्गाको उपासना गर्छन । महाभारतको विराट पर्वमा युधिष्ठिरले देवीको स्तुति गरेका थिए । यसबाट शक्ति प्राप्त गर्ने तथा सफलताको लागि देवीको पूजा र प्रार्थनाले त्यसबेलाको जनमानसमा ठूलो प्रभाव पारेको देखिन्छ ।

पुराणकालमा यसको महत्व अझ उच्च भएर गयो । ब्रह्मवैवर्त पुराण, कर्मपुराण, हरिवंश पुराण र मार्कण्डेय पुराणमा देवीको महत्वलाई दर्शाउने उनीसँग सम्बन्धित अनेकौं कथा उल्लेख गरिएको छ । मार्कण्डेय पुराणमा देवीको महत्व दर्शाउने उनीसंग सम्बन्धित अनेकौं कथा वर्णित छ । मार्कण्डेय पुराणमा महिषासुर मर्दिनी भगवतीलाई शिव, विष्णु र ब्रह्मको संयुक्त तेजबाट बनेकी भनिएको छ । त्यसबाट रहेको एउटा कथाअनुसार शुम्भ र निशुम्भ नामक दैत्यले देवतालाई अत्यन्त कष्ट दिएकाले देवताले हिमालयमा गई देवीको आराधना गर्न थाले ।

देवताको आराधनाबाट प्रसन्न भएकी पार्वतीले आफ्नो शरीरबाट शक्तिमुखी अम्बिकालाई प्रदान गरिन । अम्बिका कालो वर्णकी भएकीले उनलाई कालिका भन्न थालियो । चण्डमुण्ड राक्षसलाई मारेकी हुनाले चामुण्डा पुकार्न थालियो । शक्ति देवीको यस्तो महत्व रहेको हुनाले प्रत्येक देवताको शक्तिका रुपमा देवीको शक्तिलाई मान्न थालियो । यसअनुसार ब्रम्हा, विष्णु , महेश, कुमार, इन्द्र, वराह र यमका क्रमशः ब्राह्मी, वैष्णवी, माहेश्वरी, कौमारी, ऐन्द्री, वाराही र यमी आदि देवीहरूको सौम्य रुप र उग्ररुपमा अलग विभेद देखायो । माथिका सात शक्ति रूपलाई सात मातृकाका रुपमा मानियो ।

नेपालमा शक्तिपूजाको परम्परा लिच्छवीपूर्व देखि नै रहेको त्यसबेला प्राप्त मूर्तिबाट पुष्टि हुन्छ । मानदेव प्रथमको पालामा विक्रम संवत ५६० मा गृहपत्तीकी पत्नी विजय स्वामिनीले पलाञ्चोकमा विजयश्वरी देवीको मूर्ति स्थापना गरेकी थिइन । यस्तै अंशुवर्माको अभिलेखहरूमा ‘श्री देवी’ र षष्टी देवीको उल्लेख पाइन्छ ।

उपत्यकाभित्रका शोभा भगवती र नक्साल भगवतीका मूर्तिलाई लिच्छवीकालीन नै मानिन्छ । यसबाट लिच्छवीकालमा शक्तिधर्मको पनि जत्तिक्कै विकास भएको देखिन्छ । मध्यकालमा पनि शक्ति पूजाको यो प्रतिष्ठा यथावत देखिन्छ । अझ उपत्यकामा तलेजू भवानीको मूर्ति ल्याउने कर्णाट वंशी राजा हरिसिंहदेवको नाम वंशावलीमा भएकोले संभवत : नेपालको तराई भेक त्यसबेला शक्तिकेन्द्रको प्रमुख स्थल थियो भन्न सकिन्छ । मल्लराजाकी इष्टदेवी यी तलेजु भवानी थिइन । त्यसैले तीनवटै राजदरबारमा तलेजु मन्दिर निर्माण गरिएको थियो ।

मल्ल राजाहरुले श्री तलेजुमाजु, श्री कुमारीमाजु उपाधि लिएकोबाट पनि मल्ल राजाहरु शक्तिका उपासक थिए भन्ने प्रमाणित हुन्छ । मल्लकालमै विभिन्न शक्तिदेवीका मन्दिर र मूर्ति बनेको हुनाले धर्मको प्रभाव यहाँ व्यापक देखिन्छ । मल्लकालमा स्थापित मन्दिरमा दक्षिणकाली, गुह्येश्वरी, भद्रकाली, साँखुको बज्रयोगिनी र चापागाउँको बज्रबाराहीलाई उदाहरणका रुपमा लिन सकिन्छ ।

यी शक्तिपीठहरुमा पूजा प्रार्थना गर्ने परम्पराले नेपालको आफ्नो धार्मिक मौलिकता प्रमाणित हुन्छ । विभिन्न पर्वहरूमा शक्तिपीठको पूजाको साथसाथै नेपालीको सर्वाधिक महत्वपूर्ण चाड दशैँमा ९ दिनसम्म नवदुर्गाको पूजापाठ गर्ने परम्पराले शक्ति धर्मको लोकप्रियताको बारेमा अनुमान गर्न सकिन्छ । दशैँमा विभिन्न देवीहरूको प्रार्थनाबाट नराम्रा तत्वहरुमाथि विजय शक्ति प्राप्त हुने विश्वास रहेकाले दशैँको महत्व गरिमामय बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर