झापा । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारी बजारनजिकै झेलेनीमा शनिबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दिउँसो २ बजेतिर भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक (छोटा हात्ती) सँग विपरीत दिशाबाट जाँदै गरेको मे ५ प ४४८५ नम्बरको स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा–२ गाराबाजीका अन्दाजी ३५ वर्षका याम भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडि सवार गाजाबारीकै अन्दाजी ३६ वर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल पुर्‍याएकोमा उपचारका क्रममा दिउँसो २:४० बजे मृत्यु भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

छोटा हात्ती गाडीका चालक अर्जुनधारा २ कै २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि चालक र दुवै सवारी साधनलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको हो । मृत्यु हुने दुवै जना र छोटा हात्ती गाडी चालक पनि एउटै गाउँका बासिन्दा भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय