काठमाडौँ– आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने जनाएको छ ।

समितिका अनुसार चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ग्रहणको समयमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ।

यस्तै, ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।

ग्रहणका समयमा नित्य कर्ममा कुनै बाधा नहुने समितिले जनाएको छ । २०८० सालमा यो एउटामात्रै ग्रहण भएको समितिले बताएको छ ।