काठमाडौँ– डोटीमा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। धनगढीबाट बाजुरा जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो गाडी आज बिहान ३ बजेतिर डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका– ५ कि राधिका मलाल, धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कवीन्द्र बूढा र सोही ठाउँकी ८ वर्षीया प्रार्थना मलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरि कोइरालाले जानकारी दिए । घाइते मध्ये २१ वर्षीया बिमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मृत्यु भएकी ८ वर्षीया प्रार्थना बिमलाकी छोरी हुन् ।

अन्य घाइतेमा हिमाली गाउँपालिका– ५ का प्रकाश थापा, खोम मलाल, दान बूढा र राजु मलाल रहेका छन् । घाइतेहरूको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक गौमुल गाउँपालिका– ५ काडाकोटका महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय