
तिहार नजिकिँदै जाँदा नेपाली बजार भारतीय फूलले ढाकेको छ । सरकारले भारतबाट फूल आयत गर्न प्रतिबन्ध लगाए पनि विराटनगरका बजारमा भने भारतीय फूलको व्यापक व्यापार फस्टाएको छ । भारतीय सयपत्री फूलको व्यापार ९० प्रतिशत भइरहेको विराटनगरका व्यापारीहरू बताउँछन् ।
तिहारलाई लक्षित गर्दै नेपाली बजारमा सयपत्री फूलको व्यापार शुरू भइसकेको छ । विराटनगर बजारमा रहेका फूल पसलहरूमा प्राय:जसो भारतको कलकत्ताबाट ल्याएका फूलहरू व्यवसायीहरूले बेचिरहेका छन् । प्लास्टिकका फूलहरूले समेत बजार ढाकेको छ ।
विराटनगर भन्सार कार्यालयबाट भने आयात भएको तथ्याङ्क देखिँदैन । भन्सारमा राजश्व तिरेर भारतबाट फूल नभित्रिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी परशुराम दाहालले बताए ।‘यहाँबाट फूल गएको छैन,’ दाहालले भने, ‘अन्य कताबाट गयो भन्ने हामीलाई पनि थाहा छैन ।’
भन्सारबाट नभित्रिए पनि विराटनगरका पुष्प व्यवसायीहरूले भने भारतको कलकत्ताबाट ल्याएर बेच्ने गरेको बताए । कलकत्ताबाट आठ हजार सयपत्री फूलको माला ल्याएको विराटनगरको जय गुरु फूल डेकोरेसन पसलका सञ्चालक अमल बेराले बताए । एउटा मालाको १२० रुपैयाँमा बेच्ने गरेको उनले बताए ।
नेपालमा उत्पादन हुने फूलहरूभन्दा भारतबाट ल्याएको फूल टिकाउ हुने गरेको व्यापारीहरूको भनाइ छ । ‘भारतबाट ल्याउँदा मूल्य पनि सस्तो पर्छ,’ अमलले भने ‘फूल पनि छिटै ओइलाउँदैन । नेपालमा उत्पादन गरेको छिटै बिग्रिहाल्छ ।’
हप्तामा तीन पटक कलकत्ताबाट ल्याएर बेच्ने गरेको व्यापारीहरू बताउँछन् । मंलबार , बिहीबार र शनिबार आफ्नो पसलमा भारतबाट फूल आउने गरेको विराटनगरकै राधाकृष्ण फ्लावर पसलका सञ्चालक रुपेश साहले बताए । ‘मेरोमा हप्ताको तीन पटक फूल ल्याउँछु,’ साहले भने, ‘नेपालमा माग अनुसारको पाइँदैन ।’
महा दुर्गा फ्लावर एन्ड डेकोरेसन पसलका सञ्चालक अभिजित मनिकले हप्ताको दुईदेखि तीन दिनभित्र तीन हजार पिस फूलको माला बिक्री गर्ने गरेको बताए । भन्सारबाटै राजश्व तिरेर विराटनगरको गुद्रीमा फूल आउने गरेको र आफूले त्यहाँबाट लिने गरेको उनले बताए ।
बजारमा प्लास्टिकका फूलहरू पनि छ्यापछ्याप्ती रहेका छन् । सरकारले फूलमा नेपाल आत्मनिर्भर भएको भने पनि बजारमा भारतबाट आयात भएका सयपत्री फूल प्रशस्त रूपमा बिक्री भइरहेको व्यापारीहरू नै बताउँछन् ।
भारतबाट फूल आयात प्रतिबन्ध भनिए पनि बजारमा व्यापारीहरूले बेच्दा नै भारतीय माला र नेपाली माला भन्दै बेच्ने गरेका छन् ।
भ्यालेन्टाइनडेका लागि गुलाबमा लगानी
इलाम, झापा, मोरङ, सुनसरी, र उदयपुरमा फूलको व्यवसायिक खेती हुने गरेको कोशी प्रदेशको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोशी प्रदेशका ५ वटा जिल्लामा जम्मा ३७० रोपनीमा खेती हुने गरेको मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीले बताए । रोपनीमा ७५ हजारसम्मको आम्दानी गरेको उनले बताए । त्यो उत्पादनले भने प्रदेशमा ४० प्रतिशत मात्रै धान्ने गरेको उनले बताए ।
‘भारत र मधेश प्रदेशबाट कोशी प्रदेशमा ६० प्रतिशत आयात हुन्छ,’ अधिकारीले भने, ‘पहाँडतिर व्यवासायिक खेती हुँदैन र त्यतातिर किनबेच पनि कमै हुन्छ ।’
प्रदेश सरकारले फूल खेतीमा प्रोत्साहन गरेको छैन । पुष्प मेलामा मात्रै प्रवर्द्धन गर्ने गरेको मन्त्रालयले जनाएको छ ।‘गुलाब फूलमा भने सरकारले लगानी गरेको छ । गुलाबका लागि धनकुटाको साघुरीगढी गाउँपालिकामा खेती भइरहेको छ,’ उनले भने ।
भ्यालेन्टाइन लक्षित गरेर गुलाबको फूल उत्पादन हुने गरेको छ । भेडेटारमा भ्यालेन्टाइनडेमा युवा युवतीको भिड लाग्ने गरेको छ ।