नेता पशुपति शम्शेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक पार्टी गठन गरेका छन्। आइतबार जबराले गठन गरेको राप्रपा प्रजातान्त्रिकमा तीन प्रत्यक्ष निर्वाचितसहित १९ सांसद र झण्डै ७० केन्द्रीय सदस्य पनि गएका छन्। निर्वाचन आयोगमा दल दर्ता भएपछि संसदमा राप्रपाभन्दा ठूलो पार्टी पनि बन्नेछ राप्रपा प्रजातान्त्रिक।
राप्रपा विभाजनपछि अध्यक्ष कमल थापाले पार्टीलाई ठूलो चोट पुगेको र जबराजस्तो नेताले पार्टी फुटाउनु होला भन्ने आफूले कहिल्यै नसोचेको पनि बताएका थिए। त्यसपछि बसेको राप्रपाको बैठकले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका नेता जबरासहित दुई दर्जन बढी नेता र सांसदलाई कारबाही गरेको छ। पार्टी विभाजनपछि नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिकतिर लागेपनि रेडियो नेपालको सरकारी जागिर छोडेर राजनीतिमा सक्रिय भएकी कोमल वली भने राप्रपामै छिन्।
पार्टी विभाजनपछि निकै चिन्तित बनेकी राप्रपाकी केन्द्रीय सदस्य कोमल वलीले नेता पशुपति शम्शेर जबरालाई पार्टीमा फर्किन आग्रह गरेकी छिन्। एक टेलिभिजनमा नेता जबराले अन्तर्वार्ता दिँदै गरेको तस्वीर फेसबुकमा राख्दै नेतृ वलीले योग्य, सक्षम, नेतृत्व दिनसक्ने व्यक्तित्वले सबैलाई जोडेर नेतृत्व दिनु पर्ने भन्दै नेता जबरालाई राप्रपामै फर्किन आग्रह गरेकी हुन्।
नेता जबरालाई पार्टीमा फर्किन आग्रह गर्दै वलीले भनेकी छिन्,‘ हजुरको अभिभावकत्व आवश्यक छ पार्टीलाई। केही बिग्रेको छैन अझै।’ वलीले सिंहदरबारमा बाल्यकाल विताएको, बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढेको र निकै शालिन व्यक्ति भनेर नेता जबराको प्रसंशा गरेकी छिन्।
उनले दुवै पार्टी एक हुँदा घरमा आशाको दियो बलेको उल्लेख गर्दै उनले भनेकी छिन्,‘यो दियोमा तेल भर्ने जिम्मेवारी घरमुलीकै हो। दियो निभ्न नदिनुस्। टेलिभिजनमा अन्तर्वार्ता हेरेपछि नेतृत्वमा ठूलो विमेल रहेनछ भन्ने थाहा पाएँ।’
वलीले पार्टी एक बनाएर देशभरका आफ्ना सन्तानलाई विचलित नबनाउन नेता जबरालाई आग्रह गरेकी छिन्। ‘ पार्टी एक बनाएर देशभरका आफ्ना सन्तानलाई विचलित नबनाउनुस्। सर्वमान्य अभिभावकत्व प्रदान गर्न श्रद्धेय नेताज्यूमा हार्दिक अपिल गर्दछु,’ कोमलले भनेकी छिन्।




