पुस २७ गते राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्मदिन । पृथ्वीनारायण शाहले स–साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सिर्जना गर्ने सङ्कल्प गरेर आधुनिक नेपालको बलियो जग बसालेका थिए । आधुनिक नेपालको जग बसालेका कारण पृथ्वीनारायण शाह नेपालको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व मानिन्छन् । पृथ्वीनारायण शाह नै नेपालको राष्ट्रिय एकताका प्रतीक र नेपाल राष्ट्रको राष्ट्रनिर्माता पनि हुन् । जसले जे तर्क गरे पनि यो यथार्थ हो ।

त्यसो त केही वर्षअघि कतिपय क्रान्तिकारी भनिनेहरुले पृथ्वीनारायण शाहलाई महात्त्वाकाङ्क्षी राजा र साम्राज्यवादी र विस्तारवादी शासकको उपमा दिए । उनका शालिकहरू फुटाए । ऐतिहासिक कालदेखि मनाइँदै आएको राष्ट्रिय एकता दिवसको उत्सव र बिदा पनि हटाए । तर गएको वर्षदेखि सरकारले सार्वजनिक बिदा घोषणा गरेर पृथ्वीनारायण शाह र एकता दिवसलाई महत्त्व दिएको छ । ढिलै भए पनि यो सकारात्मक र प्रशंसनीय कदम हो ।

पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक

वर्तमान नेपालको सन्दर्भमा सबैलाई एउटै सूत्रमा बाँध्ने खालको राष्ट्रिय एकता दिवसको आवश्यकता अपरिहार्य भएको छ । सबै नेपालीले मनाउने खालको राष्ट्रिय एकता दिवसको उपयुक्त दिन एकताका प्रतीक मानिएका पृथ्वीनारायण शाहकै जन्मदिनलाई मान्न सकिन्छ ।

नेपालका पूर्व राजामध्ये पृथ्वीनारायण शाह नै श्री ५ बडामहाराजाधिराजको रूपमा मानिँदै आएका छन् । पृथ्वीनारायण शाहले स–साना क्षेत्रमा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गरेका थिए । उनले शुरु गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा शुरू गरी ४ जात र ३६ वर्णको साझा फूलबारीको सृष्टि गरेका थिए । यसर्थ पृथ्वीनारायण शाहलाई नै नेपाल एकीकरणको अभियन्ता र नेपाली राष्ट्रिय एकताका प्रतीक मान्न सकिन्छ ।

पृथ्वीनारायण शाहको दिव्योपदेशको मर्म

पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम समयतिर आफ्ना भारदारहरूलाई नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा थुप्रै उपदेशहरू दिएका थिए । ‘दिव्योपदेश’ का रूपमा आएका ती उपदेशहरू नेपाल र नेपाली समाजका लागि विशेष महत्त्वपूर्ण मानिन्छन् । ‘नेपाल दुई ढुङ्गाबीचको तरूल जस्तो छ ।’, ‘दक्षिणको बादशाह महाचतुर रहेछ ।’, ‘जाइकटक नगर्नू, झिकी कटक गर्नू।’, ‘नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो’ इत्यादि उनका अन्तिम उपदेशहरूमा अत्यन्तै पेचिला र चोटिला कुराहरू झल्कन्छन् ।‘बुढाहरू मर्दा कोही अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुरा गतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन् ।’, ‘हामी सबै जातजाति मिलेर राष्ट्रिय हितलाई संरक्षण गर्नुपर्छ ।’ जस्ता उनका उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छन् ।

‘मेरा साना दुखले आर्ज्याकाे मुलुक होइन, यो चार जात छत्तीस वर्णको साझा फूलबारी हो, सबलाई चेतना भया’ भनेर दिव्योपदेश दिएका पृथ्वीनारायण शाहका योगदानको उच्च मूल्याङ्कन गरिनु,थप अनुसन्धान हुनु र गहन समीक्षा गरिनु जरूरी देखिन्छ ।

पृथ्वीनारायण शाहको राजनीतिक र सामाजिक नीति

पृथ्वीनारायण शाहकै सैनिक नेतृत्व, सफल शासन र दूरदर्शी योगदानका कारण हामी नेपाली भएर जिउन पाएका छौँ । अङ्ग्रेजी साम्राज्यले आफ्नो कब्जामा लिन खोजेको अवस्थामा उनले सूर्यचन्द्र झन्डा फहराएर हिमवतखण्ड–नेपालको मौलिकतालाई जोगाउन सफल भएका थिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए आज हाम्रो अवस्था के हुन्थ्यो होला ? स्वाभाविक जिज्ञासा उठ्छ ।

पृथ्वीनारायण शाहले नेपाल राज्य विस्तार नगरेका भए सायद हामीले आज एउटा स्वतन्त्र नेपाली नागरिकका रूपमा रहने थिएनौँ कि ? एउटा सुन्दर हिमाली उपमहाद्वीपका नागरिक हुन पाउने थिएनौंँ कि ? हामी अझै पनि भुरे टाकुरे राज्यका रैती हुने थियौँ कि ? अथवा ‘बिट्रिश’हरूले भारतीय उपनिवेशको राज्यमा यस धर्तीलाई गाभिसकेका हुने थिए कि ? यस्तै, तमाम आशङ्का गर्न सकिन्छ ।

पृथ्वीनारायण शाहको आर्थिक नीति

पृथ्वीनारायण शाहले देशको आर्थिक समृद्धिका बारेमा धेरै कुरा व्यक्त गरेका छन् । देश गरिब भयो भने सुरक्षित रहन सक्दैन भन्ने उनको मान्यता थियो । सरकारले कर उठाउनका लागि कसैलाई ठेक्का नदिइकन आफैँले सो कार्य गर्नुपर्छ भन्ने धारणा उनमा थियो । तत्कालीन समयमा उनले पूर्व र पश्चिमको बाटोहरू बन्द गर्दै काठमाण्डाैसम्मको यातायातको बाटो खुलाउने इच्छा राखेका थिए भन्ने इतिहासमा भेटिन्छ । पृथ्वीनारायण शाहले स्थानीय उत्पादनलाई समेत जोड दिएका थिए ।

दिव्योपदेशमा उनले विदेशी व्यापारीहरू नेपाल प्रवेश गरे भने यसलाई मरूभूमि बनाएर छोड्छन् भन्ने धारणा व्यक्त गरेका थिए । उनले विदेशी कपडालाई बहिष्कार गर्ने सल्लाह दिएका थिए र स्थानीय मानिसहरूलाई कपडा बुन्न प्रशिक्षणसमेत दिएका थिए । स्थानीय सम्पत्ति देशबाट बाहिर जान नहुने उनको विश्वास रहेको थियो । उनले नेपाली जडीबुटीलाई विदेशी भूमिमा बेच्न र यसबाट प्राप्त सम्पत्तिलाई देशमा फिर्ता ल्याउन प्रोत्साहित गरेका थिए ।

पृथ्वीनारायण शाह पैसा देशभित्र मात्र रहेको हेर्न चाहन्थे ।‘प्रजा मोटा भए दरबार पनि बलियो रहन्छ ’ उक्तिबाट जनता आर्थिकरूपमा सवल र समृद्ध नभइ मुलुक बलियो र दिगो हुँदैन भन्ने पृथ्वीनारायण शाह राष्ट्रवादी शासक थिए भन्ने प्रमाणित हुन्छ।

पृथ्वीनारायण शाहको सुरक्षा नीति

पृथ्वीनारायण शाहले मुलुकको सुरक्षाका निम्ति विभिन्न किल्लाहरू निर्माणमा जोड दिएका थिए भन्ने इतिहासमा भेटिन्छ । उनले तत्कालीन अवस्थामा विभिन्न स्थानमा बलिया किल्ला तयार पार्न र प्रत्येकमा तोप राख्न सुझाव दिएका थिए । भञ्ज्याङमा फलामे ढोकाहरू निर्माण गर्न र ती सबैमा तोपहरू तयारी अवस्थामा राख्ने गरी निर्माण गराएका थिए ।

पृथ्वीनारायण शाहले कुटनीति र गुप्तचरलाई पनि निकै महत्त्व दिएका थिए । विभिन्न लडाइँमा अपनाएको गुरिल्ला युद्धकलादेखि शत्रुलाई झुक्याउन गरिएका उपाय हेर्दा उनी अत्यन्त कुटनीतिक र रणनीतिक भएको पाइन्छ । उनले देशलाई जासूस, शरणार्थी, हत्यारा आदिबाट जोगाउन यथेष्ट पहल गरेका थिए ।

पृथ्वीनारायण शाह जातीय एकताका प्रतीक

पृथ्वीनारायण शाह जातीय एकताका प्रतीक मानिन्छन् । नेपाल ४ जात र ३६ वर्णको साझा फूलबारी हो भन्ने भनाइबाट नै उनले सबै जातजातिलाई समानरूपमा व्यवहार गर्थे भन्न सकिन्छ । एकीकरण अभियानमा उनले कहिल्यै एकल जातीय आधारमा सैनिक पल्टन खडा गरेनन् । बरू खस, मगर, गुरूङ र ठकुरी सबैलाई सेनामा राखे । मिश्रित जातजाति र क्षमताका आधारमा पल्टन खडा गरे ।

पृथ्वीनारायण शाहमा सबै जातजाति मिलेर राष्ट्रिय हितलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यता थियो । ‘पट्टीपट्टीमा सिपाही छ्याससमिस गरी भर्ना गर्नू’ भन्ने सन्देशबाट नै उनी विभिन्न जातजातिलाई एकताबद्ध गर्न चाहन्थे भन्ने पुष्टि हुन्छ ।

उनले सैनिकलाई क्षमता र अनुभवका आधारमा काममा लगाउनुका साथै मुसलमान तथा दलितलाई पनि सैनिक सेवामा समावेश गरेका थिए । आफूले विजय गरेका राज्यका जनता तथा तिनका संस्कृतिप्रति देखाएको सदाशयता प्रशंसनीय मानिन्छ । यस आधारमा पृथ्वीनारायण शाह जातीय र सामाजिक एकताका प्रतीक हुन् भन्ने प्रष्ट हुन्छ ।

पृथ्वीनारायण शाहको महत्त्वाकाङ्क्षा र राष्ट्रिय स्वाभिमान

पृथ्वीनारायण शाहमा राष्ट्रिय स्वाभिमान र व्यक्तिगत महात्त्वाकाङ्क्षा दुवै पाइन्छ । त्यसो त कतिपयले पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई विस्तारवादी शासक वा विशाल राज्यको महाराजा हुने महत्त्वाकाङ्क्षी शासकको रूपमा अर्थ्याएका छन् । तर उनको विस्तारवादी कार्य समग्र नेपालको एकीकरण र नेपाली एकताका लागि अपरिहार्य आवश्यकता थियो भन्ने कुरा कालान्तरले नै पुष्टि गरेको छ ।

पृथ्वीनारायण शाह एक कुशल सैनिक नेतृत्व र सफल शासक त छँदै थिए, एउटा दूरदर्शी रणनीतिज्ञ पनि थिए । उनका कतिपय रणनीतिक कौशल र सुझबुझ अझै पनि नेपालको राष्ट्रिय सुरक्षाका सन्दर्भमा उपयोगी र मार्गदर्शक छन् । नेपालको भूगोल र भूराजनीतिक अवस्थितिको परिप्रेक्ष्यबाट गरिएका पृथ्वीनारायण शाहका रणनीतिक चिन्तनहरू अहिलेको बदलिँंदो सामाजिक, राजनीतिक, आर्थिकका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिमा समेत अनुकूल देखिन्छन् ।

पूर्व आधुनिक शाहवंशीय राज्य व्यवस्थाकालदेखि अहिलेको लोकतान्त्रिक गणतान्त्रिक राज्य व्यवस्थाकालमा नेपालमा विभिन्न बहानामा तमाम नेताहरू जन्मिए । समयान्तरमा नेपाली जनताले धेरै नेताहरू भोगे । तर, राष्ट्र र राष्ट्रियतालाई एकजुट बनाउने पृथ्वीनारायण शाहजस्तो नेता भने अहिलेसम्म पाएका छैनन् । उनले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिका र योगदानलाई बिर्सनु अर्को ऐतिहासिक भूल हुनेछ ।

विभिन्न ऐतिहासिक तथ्यबाट पृथ्वीनारायण शाह नै नेपालका राष्ट्रनिर्माता हुन् र उनी राष्ट्रिय एकताका प्रतीक हुन् भन्ने कुरा प्रष्ट हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर