झापामा गएरातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका नदीहरुमा बाढी आएको छ । झापासहित मुलुकका मध्य तथा पूर्वी तराईका केही स्थानमा मनसुन थप सक्रिय भएकाले यी क्षेत्रका नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह पनि गरेको छ ।

एक सूचनामार्फत पूर्वको कन्काई, कोशी, कमला र मध्य भू–भागको वाग्मती, पूर्वराप्ती लगायतका नदी जलाधारमा बहाव सतर्कता तह आसपास पुग्ने अनुमान गरिएकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तराईमा तटीय तथा डुबान भइरहने क्षेत्रमा शुक्रबार बिहानपछि बहावले खतराको तहसमेत पार गर्नसक्ने सम्भावना रहेको भन्दै विभागले विशेषगरी चुरेबाट प्रवाह हुने साना नदी, मेची, निन्दा, विरिङ, त्रियुगा, खाँडो, गागन, लाबकैया र आसपासका सबै ससाना खोलाका तटीय क्षेत्रमा पनि आजदेखि शुक्रबारसम्म उच्च जोखिममा रहेकाले सचेतता अपनाउन आग्रह गरेको हो ।

विभागका बाढी पूर्वानुमान शाखाका प्रमुख राजेन्द्र शर्माले नदी तटिय क्षेत्रका सबै स्थानीय नागरिक, सो क्षेत्रमा आवतजावत गर्ने र सम्बन्धित सबैलाई सतर्कता अपनाउन तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहनसमेत विशेष अपिल गरिएको जानकारी दिए ।

कम्प्युटर मोडलबाट गरिएको बाढी भविष्यवाणीलाई आधार मानेर विभागले नदी किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह गरेको प्रमुख शर्माले जानकारी दिए ।