मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियामा चट्याङले लागेर आज बिहान एकजना किशोरीको मृत्यु भएको छ।

अविरल वर्षासँगै परेको चट्याङले १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार घरमै बसिरहेका बेला बिहान ७ः३० बजेतिर चट्याङले लागेर विपना गम्भीर घाइते भएकी थिइन्।

चट्याङले लागेर बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ ८ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ।

त्यस्तै, धनपालथान गाउँपालिका –७ कदमाहस्थित एउटा घरमा चट्याङ परेर आगलागी भएको छ। रामा केवरतको घरमा बिहान ४ः३० बजेतिर आगलागी भएको डीएसपी बस्नेतले बताए।
उनका अनुसार चट्याङ पर्नासाथ सुरु भएको आगोले बाँसको टाटीले बारेको र टिनको छानो भएको एकतले घर पूर्णरूपमा जलेको छ। घरभित्र रहेका सामान पनि जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।
स्थानीयको सहयोगमा प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। घटनामा मानवीय र चौपाया क्षति भने नभएको जानकारी प्रहरीले दिएको छ।

यता झापाको मेचीनगरमा चट्याङले लागेर एकजना घाइते भएका छन् । आज बिहान अन्दाजी ३ बजेको समयमा मेचीनगर नगरपालिका वडा न.१५ कालिका झार बस्ने वर्ष अन्दाजी २१ की रंजिता हस्दा हावाहुरीसहित आएको चट्याङले लागेर घाईते भएकी हुन् । उनलाई उपचारको लागि प्रादेशिक हस्पिटल भद्रपुर लगिएको छ । कम्मरमुनि घाइते भएकी हस्दाको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै अविरल बर्षासँगै परेको चट्याङले झापा गाउँपालिका वडा नं.२ सडकवारी बस्ने बिजय भन्ने बिष्णुबहादुर बुढाथोकीको टिनको बेरा र टिनको छानो भएको एकतले गोठमा आगलागी भएको छ । आज बिहान १ बजे परेको चट्याङले बुढाथोकीको गोठमा आगलागी हुँदा गोठ, काठ र भुससमेत पूर्ण रुपमा जल्दा अन्दाजी एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै गएराति १२ः३० बजेको समयमा झापा गाउँपालिका ३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको २ बिघा खेतको परालमा बर्षासंगै परेको चट्याङले आगलागी भएको छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल, स्थानीयको सहयोगमा बिहान ६;५०बजे आगो नियन्त्रणमा आएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय