काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

‘देहायको परिचय वतन खुलेको व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने…। तत्काल निजलाई पक्राउ नगरे मुद्दाको प्रमाण नष्ट हुने, निज भागीजाने भएकाले’, प्रशासनद्वारा जारी पक्राउ पुर्जीमा भनिएको छ।

आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाइएको हो । तर कार्यालयमा पुगेको प्रहरीसँग आशिका र उनका सहयोगीले गलफत्ती गरेका थिए । उनीहरूले सक्कलै पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई दबाब दिएका थिए ।

उनीहरूको दबाबबीच प्रहरीले पक्राउ गरेको हो । आशिकाले आफूलाई समाज सुधारक भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेकी थिइन् ।

आशिकाले पशुपति परिसरमा ड्युटीमा रहेका प्रहरीलाई मुख छाड्दै गालीगलौज गरेपछि कारबाहीको दबाब परेको थियो । त्यही प्रकरणमा उनलाई प्रहरीले गौशाला वृत्तमा राखेर अब कारबाही अघि बढाएको हो । खबर हब बाट साभार