
विराटनगर । मोरङको सुन्दरहरैँचामा जंगली हात्तीको आक्रमणबाट एक महिनामा ३ जनाको मृत्यु भएको छ ।
जंगलसँग जोडिएको बस्तीमा हात्तीले धेरै दुःख पनि दिइरहेको छ । सुन्दरहरैँचा नगरपालिका–५, ७ र ८ नम्बर वडामा हात्तीको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार हात्तीले आक्रमण गर्दा शनिबार बिहानको राति सुन्दरहरैँचा– ८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा गत पुस १७ गते सुन्दरहरैँचा–५ की चन्द्रकुमारी लिम्बू र पुस ५ गते सुन्दरहरैँचा– ७ बस्ने गंगा श्रेष्ठको मृत्यु भयो ।
प्रहरीका अनुसार शनिबार बिहानको राति बच्चासहित आएको हात्तीले आक्रमण गर्दा घिमिरेको घटनास्थलमै मृत्यु भएको थियो । उनको घर जंगलबाट करिब २० मिटरजति टाढा मात्रै छ ।
गत पुस १७ गते जंगलबाट दाउरा लिएर आउँदै गर्दा सुन्दरहरैँचा–५ गुरुङ टोलकी ६१ वर्षीया चन्द्रकुमारी लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो । सुन्दरहरैँचा–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गंगा श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो ।
सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईं हात्तीले सर्वसाधारणलाई धेरै दुःख दिएको बताउँछन् । ‘हात्तीले हैरान दिएको छ । राति सुत्न पाइँदैन । रातभरि फोन आउँछ । साइरन बजाउन प्रहरी पुग्छन् । काहिलेकाहीँ दमकल नै पठाउनुपर्छ । हात्तीले आलु पनि उखेलेर खाइदिन्छ,’ उनले भने ।
हात्तीले अन्नबाली र घरहरुमा क्षति गरिरहेको गुरागाईंले बताए । पीडितले उचित क्षतिपूर्ति पनि नपाइरहेको उनको भनाइ छ । ‘एक लाख रुपैयाँ क्षति हुँदा माथिबाट १० हजार मात्रै आउँछ । सरकारले क्षतिपूर्तिलाई वैज्ञानिक बनाउनु पर्छ,’ उनी भन्छन् ।
नगर प्रमुख गुरागाईंका अनुसार हात्तीलाई बस्तीमा प्रवेशका लागि रोक्न केन्द्र र प्रदेश सरकारसँग सहयोग माग गरिएको छ । ‘झापामा फेन्सिङ तारजाली गर्दा हात्ती केही रोकिएका छन् । हात्तीलाई रोक्नका लागि केन्द्र सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने ।
सुन्दरहरैँचाको उत्तरतर्फको सामुदायिक वनमा अहिले दैनिकजसो हात्ती देखा पर्छन् । करिब एक दर्जनाको संख्यामा हात्ती रहेको स्थानीयले बताए । हात्तीको त्रासले सर्वसाधारणले रातभर सुत्नसमेत नपाएको र मानवीय तथा भौतिक क्षति गर्ने क्रम बढेको सुन्दरहरैँचा–८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेले बताए ।
‘हात्तीका कारण मानवीय तथा भौतिक क्षति बढ्यो । त्रासका कारण सर्वसाधारण रातभर जाग्राम बस्नुपर्छ,’ उनले भने । न्यौपानेका अनुसार हात्तीले मानिसलाई आक्रमण गर्ने, घर भत्काइदिने र अन्नबाली नष्ट गरिदिने गरेको छ ।
झापा, मोरङ र सुनसरी जिल्लाको उत्तरी क्षेत्रमा हात्तीको चहलपहल बढेको छ । हात्तीले उपद्रो मच्चाउन थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । प्रहरीका अनुसार सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको छ ।