देशकै लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा प्रहरीले प्रायः हरेक दिन लागूऔषध पक्राउ गर्ने गरेको छ । तर, प्रहरीले संख्यात्मक हिसाबले जति लागूऔषध सेवनकर्ता पक्राउ गरिरहेको छ , त्यति नै धेरै लागूऔषधको कारोवार बढ्दै गएको छ ।

मुख्य ट्रान्जिट पोइन्ट झापामा लागूऔषध सेवनकर्ता र खुद्रा व्यापारी मात्र पक्राउ परेर ठूला डिलर पक्राउ नपर्नुले प्रहरी प्रशासनकै मिलेमतोमा लागूऔषध कारोबार हुने गरेको आरोप लागेको छ । प्रहरी प्रशासनले ड्रग्स माफियाहरुलाई पक्राउ गरी लागूऔषधको जालो तोड्न नसक्नुमा प्रहरी प्रशासनको कमजोरी वा मिलेमतो के हो भनेर आशंका उव्जिएका बेला राष्ट्रिय स्वतन्त्र पार्टीले प्रहरी प्रशासनकै मिलेमतोमा लागूऔषध कारोबार हुने गरेको गुनासोसहितको ११ बुँदे ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई बुझाएको छ । जिल्ला सभापति उमेश खरेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा भनिएको छ ,‘लागूऔषधको कारोबार र सेवनले झापा धेरै पीडित छ । प्रहरी र प्रशासनकै मिलेमतोमा लागूऔषध कारोबार हुने गरेको गुनासो रहेको छ। देशका युवाको जीवन बिग्रिनु देशको भविष्य नष्ट हुनु हो भन्ने सत्यलाई मनन गरी यसतर्फ कडाइ गरियोस् ।’

धेरैतिरबाट गुनासो आएपछि आफूहरुले लागूऔषधका बारेमा प्रहरी प्रशासनमाथि त्यस किसिमको आरोप लगाएको जिल्ला सभापति खरेलले बताए । उनले भने,‘ प्रहरी प्रशासनले चाहेको भए ठूला डिलर नै पक्राउ गर्न सक्थ्यो , तर त्यसमा गंभीर देखिएन ।’ देशका युवा वर्ग नै ध्वस्त भएर देश बर्बाद हुँदासमेत प्रहरी प्रशासनले ठोस र प्रभावकारी कदम चाल्न नसक्नु कमजोरी भएको उनले बताए । आफै बिगार्ने , सुधार्ने अनि फेरि बिगार्ने काम गरिरहेका सुधार केन्द्रहरु व्यक्तिको मातहतमा नराखेर सरकारको अधिनमा ल्याउनु पर्ने उनको धारणा थियो ।

झापाको बिर्तामोड र दमकमा कोशी प्रदेशकै लागूऔषधको मुख्य डिलर रहेको बताइएको छ । बिर्तामोडका डिलरबाट पूर्वी पहाडी जिल्लाहरु इलाम , पाँचथर , ताप्लेजुङसम्म लागूऔषध आपूर्ति हुने गरेको छ भने दमकको डिलरबाट सोलुखुम्बु , उदयपुरसम्म लागूऔषध पुर्याइने गरिएको छ । पूर्वपश्चिम राजमार्गदेखि उत्तरी क्षेत्र लागूऔषधबाट बढी प्रभावित भएको पाइएको छ । त्यस्तै लागूऔषध सेवनकर्तामा ७ प्रतिशत जो धनाढ्य छन् उनीहरुले ब्राउनसुगर प्रयोग गर्ने गरेका छन् भने ९३ प्रतिशत लागूऔषध प्रयोगकर्ताहरुले सस्तो प्रकारका कोरेक्स र विभिन्न ट्याव्लेट प्रयोग गर्ने गरिएको बताइन्छ ।

प्रहरीले २–४ ग्राम ब्राउनसुगर पक्राउ गरेर देखावटीरुपमा आफ्नो काम मात्र निर्वाह गरिरहेको चेतना नेपालका प्रमुख प्रशिक्षक इन्द्र ओलीले बताए । भारतको बाटो हुँदै म्यान्मार , पाकिस्तान , अफगानिस्तान , मणिपुर , नागाल्याण्डलगायतका ठाउँबाट लागूऔषध नेपालमा आयात भएर तेस्रो राष्ट्र निर्यात गर्ने डिलरसम्म प्रहरी प्रशासन पुग्न नसकेको प्रमुख प्रशिक्षक ओलीको भनाई छ । सेवनकर्ता र केही खुद्रा व्यापारीसम्म मात्र प्रहरी पुग्न सकेको उनले दावी गरे । २०५६ सालमा आफू प्रहरी हुँदा २ पाउन्ड ब्राउनसुगर पक्राउ गरेको स्मरण गर्दै पूर्व प्रहरी नायव निरीक्षकसमेत रहेका ओलीले त्यसयता ठूलो परिमाणमा ब्राउनसुगर बरामद नभएको दावीसमेत गरे ।

उता झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले लागूऔषध जटिल समस्या भएकाले प्रहरी एक्लैले नियन्त्रण गर्न गाह्रो भइरहेको स्वीकारे । उनले झापासहितका सीमावर्ती जिल्लामा देखिएको यो समस्यामा सबैजना गंभीर भएर लाग्न जरुरी भएको बताए ।

चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागूऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट ब्राउनसुगर, गाँजा, चरेसलगायत लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

पक्राउ गरिएका अभियुक्तबाट झण्डै गाँजा तीन दशमलव ६७ किलोग्राम, ब्राउनसुगर सात सय २० दशमलव ८० ग्राम, ट्रमाडोल सात हजार दुई सय ३७ ट्याब्लेट, एन्टिकफलगायत ट्याब्लेट बरामद गरिएको उनले जानकारी दिए । प्रहरीले लागूऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छ महिनामा जिल्ला अदालत झापामा एक सय ५१ वटा लागूऔषधका मुद्दा दर्ता भइसकेको छ । लागूऔषधको कारोबार हुने जिल्लाका विभिन्न स्थान र सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रवक्ता चन्दले दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय