संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। समितिले विधेयकको विवादित दफा संशोधनसिहत पारित गरेको हो।
समितिले गठन गरेको कार्यदलले उपत्यकामा पाँच वटा मेडिकल कलेजले सम्बन्धन पाउनेगरी बुझाएको प्रतिवेदनमा रहेको विवादित दफा १३ को उपदफा ६ मा ‘यस ऐन अनुसार आयशपत्र पाएका मेडिकल, डेन्टल र नर्सिङ विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा मापदण्ड पूरा गरिसकेका शिक्षण संस्थालाई सम्बन्धन दिन बाधा पर्ने छैन’ भनेर संशोधन गरिएको छ।
यसअघि ‘यो ऐन प्रारम्भ हुनुअघि सम्बन्धित निकायबाट आशयपत्र प्राप्त गरेका संस्थालाई सम्बन्धन दिन बाधा पर्नेछैन’ भन्ने उल्लेख थियो। अब चिकित्सा शिक्षा ऐन बनेपछि उक्त ऐन अनुसार बन्ने चिकित्सा शिक्षा आयोगले निर्धारण गरेका मापदण्ड भित्र पर्ने मेडिकल कलेजहरुले मात्र सम्बन्धन पाउनेछन्। तर, नयाँले भने उपत्यकामा १० वर्ष सम्म सम्बन्धन पाउने छैनन्।
यसैगरी, समितिले विधेयकको प्रस्तावनामा नै ‘माथेमा कार्यदलको भावना र मर्म अनुसार हुनेगरी’ भन्ने शब्दावली पनि थपेको छ। यस्तै अब नयाँ ऐन आएपछि कम्तीमा दुई वर्ष अस्पताल सञ्चालन भएपछि मात्रै मेडिकल कलेजको सम्बन्धन पाउन सक्ने व्यवस्था पनि राखिएको छ।
डा. केसी अनशनको १९ औँ दिनसम्म पनि समस्या समाधान नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान बैठक बोलाएका थिए। प्रधानमन्त्री निवास वालुवाटारमा बसेको उच्चस्तरीय बैठकले नयाँ मेडिकल कलेज सम्बन्धनको विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय लिनेगरी विधेयक अगाडि बढाउने सहमति गरेको थियो। सोही अनुसार समितिले विधेयक पास गरेको हो।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान बालुवाटारमा प्रा डा केसीको माग र चिकित्सा विधेयकका सम्बन्धमा सरोकार भएकाहरुसँग सहमति गरी समाधान खोज्न आग्रह गर्नुभएको थियो । प्रा डा केसी चिकित्सा शिक्षा विधेयक पारितलगायत विभिन्न माग राख्दै १९ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनमा हुनुहुन्छ ।
उहाँको स्वास्थ्य गम्भीर बन्दै गएपछि पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलगायतको पहलमा बैठक बसेको थियो ।
सो बैठकमा शिक्षामन्त्री श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, पूर्वशिक्षामन्त्री धनीराम पौडेल, समाजकल्याण समितिका सभापति झा, माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमा, चिकित्सा विधेयक कार्यदलका कार्यकारी उपाध्यक्ष डा भगवान कोइराला, डा अर्जुन कार्की, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र डा केसीका वार्ता टोलीका सदस्य सहभागी हुुनुहुन्थ्यो ।



