बिहानपख ओछ्यानमै राप्ती नदी पसेपछि ब्युँझिएकी बाँके बेतहनियाकी गुड्डुदेवी केवड शनिबार दिनभर पनि डरले थरथराइरहेकी थिइन । उनलाई कहाँ बस्ने, के खाने भन्ने चिन्ताले सताएको छ ।
घरमा रहेका सबै खानेकुरा हिलाम्मे भएको छ । लत्ताकपडा पनि हिलामै पुरिएको छ । घरबाट केही सरसामान निकालेर उनी सडकमै बसिरहेकी छन् । ‘सबैको घरमा नदी पसेको छ,’ उनले भनिन, ‘बिहानपख नदी पस्यो रातिमा भइदिएको भए त हामी सबै मर्ने थियौं, ।’
राप्ती नदीको बाढी सोनारी गाउँमापिलकामा पस्दा एउटै घरका १२ बर्षीया अञ्जु थारु, ९ बर्षीया सरिता थारु र ७ बर्षकी सुस्मिता थारुको मृत्यु भएको छ ।
शुक्रबार रातिदेखि बाक्लिएको मनसुनका कारण राप्ती नदी तटीय क्षेत्रका हजारौं अहिले यस्तै त्रासमा छन् । खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
‘भारतले बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेमा यो समस्या आएको हो । बाढी आउँदा उसले ढोका खोल्दैन । यो एउटा राष्ट्रिय समस्या नै हो । यसैका कारण बाँके बर्सेनी डुबानमा पर्दै आएको छ । हामीले शनिबार पनि भारतीय पक्षसँग कुरा गर्न खोज्यौं तर सम्पर्क भएन ।’ निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले भने ।



