तीन दिनयताको अविरल वर्षाका कारण पूर्वी तराईमा विद्युत आपुर्ति बन्द भएको छ । विभिन्न स्थानमा सबस्टेशन पानीले डुबाउनुका साथै केही स्थानमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई ‘ब्ल्याकआउट’ भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्रणाली सञ्चालन विभागका प्रमुख बिष्णुकुमार श्रेष्ठका अनुसार सिरहाको लहानदेखि पुर्वका सबै तराई जिल्लाहरुमा अहिले विद्युत आपूर्ति हुनसकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने ‘शुक्रबार मध्यरातदेखिको अविरल वर्षाका कारण तराईका थुप्रै जिल्ला डुबानमा परेका छन्, यस्ता जिल्लामा विद्युत वितरण गर्नका लागि बनेका सबस्टेशन पनि डुबेका कारण पूर्वि तराई पुरै ब्ल्याकआउट भएको छ ।’

पानीको लेभल घटिहालेपनि तत्काल विद्युत आपुर्ति हुनसक्ने स्थिति छैन । यस्ता डुबेका स्बस्टेशनहरु चेकजाँच पछि मात्रै विद्युत सुचारु गरिने श्रेष्ठले बताए ।

बाढीका कारण केहि स्थानमा ट्रान्समिसन लाइनका पोलहरु पनि ढलेका छन् । जसका कारण पनि पूर्वी तराइमा विद्युत प्रसारण हुन सकेको छैन । श्रेष्ठका अनुसार काबेली करिडोर अन्र्तगतको ट्रान्समिसनलाइन ढलेको छ ।

पश्चिमको तराई भागमा भने अहिलेसम्म बिद्युत आपुर्ति रोकिएको खबर नआएको श्रेष्ठ बताउँछन् । उनले भने ‘पश्चिम तराईमा अहिलेसम्म विद्युत आपूर्तिको लागि भने समस्या देखिएको छैन । ‘

सबस्टेशनहरु डुवानरहित बनेको २ दिनपछि मात्रै त्यस्ता स्थानमा बिद्युत आपूर्ति गर्न मिल्ने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा पनि समस्या आएको छ ।

हेटौंडा ढल्केबर प्रशारण लाइनमा ठुला रुखहरु ढलेको कारणले पनि उक्त वरपरको क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध आएको छ । पूर्वी चितवनमा पनि विजुली आपूर्ति ठप्प छ ।