झापा- एकैपटक असह्य पीडाले सताउँदा मान्छे रुन पनि सक्दो रहेनछ ! मनमा गाँठो परेको वेदना आँसु भएर पोखिन पनि समय लाग्दोरहेछ! १७ वर्षे राजकुमार घोर्सानेका लागि पछिल्ला चार दिन यस्तै उकुसमुकुसपूर्ण रहे। थाहा छैन, कलिलो मनमा परेको गहिरो चोट कसरी पुरिन्छ ! न राम्ररी बोल्नै सकेका छन्, न डाँको छाडेर रुन नै।

शनिबार बिहान कनकाईको बाढीले आमा घनमाया र बहिनी कमलालाई एकैसाथ बगाएको कहालीलाग्दो दृश्यका एकमात्र साक्षी उनै हुन् । बगेको केही घन्टापछि आमाको शव फेला परेपछि उनी किरियामा बसेका छन् । उनका बाबुलगायत छिमेकी बहिनीको ‘शव’ खोज्न दिनहुँ हिँडिरहेका छन् ।

‘आज पनि बाबा र छिमेकी अंकलहरू बहिनीको शव खोज्न जानुभएको छ’, मंगलबार बिहान झापा गाउँपालिका २ स्थित घरको ‘थला’ मा आमाको मृत्युसंस्कारमा बसेका उनले नागरिकसँग भने । कसैले केही सोधे एक लाइनको जबाफ दिने अनि फेरि लामो मौनतामा डुबिहाल्ने राजकुमारको शैली उनको स्वभावभन्दा बिल्कुलै फरक छ । उनका आफन्तजनदेखि छिमेकीसम्मले गरेको अड्कल एउटै छ– आँखैअघि आमा र बहिनी गुमाएको गहिरो पीडाले यो कलिलो केटो उम्किन सकेको छैन । ‘त्यो दिनदेखि एकोहोरो जस्तो भएको छ’, उनका ठूलोबुबा दुर्गाबहादुरले भने, ‘मज्जाले रोइदिए पनि छातीको गाँठो त फुक्थ्यो तर के गरोस्, रुन पनि सकेको छैन ।’

उनका बुबा रोजगारीको सिलसिलामा लामो समयदेखि भारतको गुहावटीमा बस्दै आएका छन् । घरमा हजुरआमा,  दुई बहिनी, आमा र उनीमात्रै थिए । अघिल्लो साँझ मात्रै ठूलोबुबाले हजुरआमा र सानी बहिनीलाई आफ्नो घर लगेका थिए । घरमा कमला, राजकुमार र आमामात्रै थिए ।

बिर्तामोडको कनकाई कलेजमा उतै डेरा बसेर व्यवस्थापन संकायमा कक्षा ११ पढिरहेका राजकुमार सधैं शुक्रबार घर आउँथे र शनिबार साँझ फर्कन्थे । यसपटक उनी बिहीबारै घर पुगेका थिए । उनका छिमेकी दाइले खोलामा धेरै ठूलो बाढी आएको खबर मोबाइलमा पठाएपछि उनी कलेज जानै सकेनन्, हान्निएर घर पुगे । लगातारको झरीले कतै निस्किन दिएन । घरैमा आमा र बहिनीसँग टिभी हेर्दै बसे उनी । शनिबार बिहान एक बजे राजकुमार एक्कासि चिच्याए, ‘मम्मी, खोला घरैमा आइपुगेछ, भागौं ।’ ‘के भन्छ यो’, आत्तिँदै उठेकी आमा पनि कहालिइन्, ‘मेरी बास्सै, खोलै पो आएछ त !’

छोराले निन्द्राबाट ब्युँझाएपछि  खाटबाट तल ओर्लन खोज्दा उनका खुट्टा पानीमा छप्ल्यांग बजेका थिए । त्यसैले छोराको कुरा पत्याउन उनले समय कुर्नै परेन । छिमेकतिर पनि होहल्ला चलिरहेको थियो ।  त्यही बेला कसैले करायो ‘ए कान्छी ! गाईबस्तु खोलेर छोड्देऊ है, पानीले डुबाउला ।’ छोराछोरीलाई मोबाइल र पैसा पर्समा हाल्न अह्राउँदै घनमाया गोठतिर दौडिइन्, हतारहतार गाई र बाख्राका दाम्ला फुकालिदिइन् । केहीबेर अघिसम्म घरमा थोरैथोरै पसिरहेको पानी अब भंगालोमा परिणत भइसकेको थियो । ‘यहाँ बस्यो भने खोलाले बगाउँछ, जाऊँ दिदीकोतिर,’ छोराछोरीलाई उनले इसारा गरिन् ।

मुसलधारे झरी र निष्पट्ट अन्धकारबीच घनमाया छोराछोरी  लिएर घरबाहिर निस्किइन् । नजिकै रहेको फुपू दिदीको घरलाई लक्ष्य बनाएर उनीहरु घरनजिकै आइपुगेको खोला तर्न थाले । घनमायाको एउटा हात छोराले र अर्को हात छोरीले समातेका थिए । ‘फुपूको घर पुग्न खोला तर्दै थियौं, बुने (कमला) को खुट्टा चिप्लिएछ’, राजकुमारले सुनाए, ‘ऊ त्यतिबेलै लडिछ, उसलाई त्यति बेलै पानीले डुबायो ।’ पानीको ठूलो भंगालो अनि रातको अन्धकार । ‘बुने डुबेपछि मम्मीले  उसलाई तान्न भनेर मेरो हात छोड्नुभो,’ ज्यादै असजिलो स्वरमा उनले भने, ‘मेरो हात छोड्नासाथ मम्मी पनि डुब्नुभो, पानी खानुभएछ एकदमै आत्तिनुभो। म दुईजना भएकै ठाउँमा पुगें, दुवैले समात्दा म पनि डुबें ।’ सायद उनीहरु दुवैजना पानीबाट बाहिर निस्कने सहारा खोज्दै थिए ।

त्यही बेला घनमायाले राजकुमारलाई ‘बाहिर जा’ भन्न भ्याइन् । ‘मलाई त्यति भनेपछि मम्मी पूरै डुब्नुभो, बुने देखिनै छाडी । मलाई कहाँबाट इनर्जी आयो कुन्नि, पौडेर बाहिर निस्केछु ।’ बाहिर निस्कनासाथ उनले गुहार माग्ने ठाउँ कतै थिएन । छिमेकी कता भागे, पत्तो थिएन । मुसलधारे झरी रोकिएको थिएन । राजकुमार दौडेर नजिकैको झापा बजारमा रहेको प्रहरीचौकीतिर लागे । ‘सर, मेरो मम्मी र बहिनीलाई खोलाले बगायो, म पौडेर बाँचेर आएँ, खोजिदिनुप¥यो’, उनले प्रहरीलाई एकै सासमा अनुरोध गरे ।

चौकीमा एक्लै रहेका ती प्रहरीले सुरुमा पत्याएनन् । उनी झोक्किएपछि प्रहरीले रुखो उत्तर दिए, ‘सबै ड्युटीमा गए । म एक्लै छु  । उज्यालो भएपछि आउनू !’ सहयोग माग्न पुगेको ठाउँबाटै यस्तो जबाफ आएपछि उनी फरक्क फर्किए । त्यस बेलासम्ममा साढे तीन भइसकेको थियो । ‘त्यसपछि बजारतिर कराउँदै हिँडें, चिनेकालाई बोलाउँदै हिँडें, झरीले होला, कसैले सुनेनन्’ राजकुमारले भने, ‘उज्यालो भएपछि गाउँले भेला भए। खोज्न थाले । बिहान नौ बजेतिर मम्मीको लास भेटियो । बुने त अझै बेपत्ता नै छे । सबै जना उसको लास भेटिएन भन्छन् । मलाई चाहिँ अझै पनि बुने आउँछे कि जस्तो लाग्छ !’ नागरिक न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah