दमक÷ झापाको कमल गाँउपालिका–१ स्थित सराङपाडाका बाढीपीडितहरुलाई बुधबार दमकको मुगाधन –कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले राहत सामाग्री वितरण गरेको छ ।
बाढीपीडित स्थलमा पुगेर प्रतिष्ठानले त्यस क्षेत्रका ५१ बाढीपीडित घरपरिवारलाई चामल, तेल, दाल,सावुन वितरण गरिएको हो । राहत सामग्री प्रतिष्ठानकी अध्यक्ष तथा व्यवस्थापिका संसद सदस्य महेन्द्रकुमारी सुब्बाले हस्तान्तरण गरिन् । सांसद सुब्बाका अनुसार प्रतिष्ठानले रु ५० हजार मूल्य बराबरका उपभोग्य राहत बाडिएको छ ।
राहत सामग्री हस्तान्तरण गदैं सांसद सुब्बाले मानवीय सेवामा प्रतिष्ठानले सक्दो सहयोग जारी राख्ने जोड दिईन् । कार्यक्रममा कमल गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष केदार कटुवाल, दमक नगर विकास समितिका अध्यक्ष पर्शुराम रिजाल, कांग्रेस गाँउपालिका संयोजक खगेन्द्र भण्डारी , सामाजिक अगुवा हुकुमसिंह राई,क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, दमक नगर सचिब दिपेश दाहाल लगायतको उपस्थिती रहेको थियो । गत शनिवार कमल खोलामा आएको बाढीले गाँउ पसेपछि त्यस क्षेत्रका ५१ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका थिए । विस्थापितहरु स्थानीय विद्यालयमा अस्थायी रुपमा बसोबास गरिआएका छन् ।
यसैवीच, त्यस क्षेत्रमा कमल गाँउपालिकाको कार्यालयले वितरण गरेको चिउरा खान नसकिने पीडितहरुले गुनासो गरेका छन् । बाढीपीडित निकेश भण्डारीले गाँउपालिकाले वितरण गरेको चिउरा खानै नसकिने खालको भएको गुनासो गरे । मंगलवार ती क्षेत्रमा गाँउपालिकाले बाढीपीडित परिवारलाई प्रतिपरिवार २ केजी चिउरा, ५ पकेट चाउचाउ वितरण गरेको थियो ।



