चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग मंगलबार छुट्टै गर्नुभएको भेटवार्ताले नेपाली राजनीतिक रंगमञ्चमा फेरि एकपटक तरंग ल्याइदिएको छ । चिनियाँ उपप्रधानमन्त्री याङले एमाले अध्यक्ष ओलीलाई अन्य नेपाली नेताहरुसँग भन्दा पृथक ढंगले करिब आधाघण्टा राजधानीको सोल्टी होटलमा गोप्य भेटवार्ता गरेका थिए ।
उक्त भेटवार्तामा एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री याङसँग नेपाल र चीनबीचको सम्बन्धबारे निकै गम्भीर बहस भएको श्रोतले जनाएको छ । नेपालका अन्य नेताहरुसँग सामुहिक रुपमा छलफल गरेका उपप्रधानमन्त्री याङले अध्यक्ष ओलीसँग किन फरक ढंगले गोप्यवार्ता गरे होलान् ?
अध्यक्ष ओलीसँग गोप्य वार्ता गर्नुअघि अन्य दलका नेताहरुसँग उनले सामुहिक छलफल गर्दै राष्ट्रपति सी जिन पिङले पठाउनुभएको सन्देश सुनाएका थिए । यद्यपि, अध्यक्ष ओलीसँग भएको वार्तामा पनि उनले राष्ट्रपति सीको सन्देश सुनाउँदै एमाले र अध्यक्ष ओलीले नेपाल–चीनबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन खेलेको भूमिकाको खुलेर प्रसंशा गर्नुभएको श्रोतले बताएको छ ।
वास्तवमा चीनले एमाले अध्यक्ष ओलीलाई निक यति धेरै महत्व दियो त ? यसका केही कारणहरु रहेका छन् । वास्तवमा यो विषयमा केही वर्ष अघिदेखि एमाले र चीनबीच घनिष्ठ हुँदै गएको राजनीतिक र कुटनीतिक सम्बन्धको विशेष भूमिका देखिन्छ । नेपालमा नयाँ संविधान जारी भएलगत्तै भारतले त्यसलाई अस्वीकार गर्दै नाकाबन्दी लगाइदियो ।
त्यसपछि नेपालले करिब ६ महिना निकै कष्टप्रद ढंगले गुजार्यो । त्यसबेलाका तत्कालीन प्रधानमन्त्री केपी ओलीनै थिए । भारतले नाकाबन्दी गरेलगत्तै इन्धन आपूर्तिका लागि चीनले नेपाललाई राम्रो सहयोग गर्यो । त्यहीबेला चीनबाट नेपालमा इन्धन आपूर्ति गर्न नीतिगत व्यवस्था गरेका कारण अध्यक्ष ओलीप्रति चीनले निकै विश्वास गर्न थाल्यो ।
त्यतिमात्र होइन नेपालमा विकसित पछिल्लो राजनीतिक अवस्था र त्यसमा एमालेले लिएको अडानलाई पनि चीनले विश्वासको आधार बनाइदियो । संघीयताको सवालमा एमालेले लिएको अडानलाई चीनले समर्थन गरिरहेको छ ।
माओवादीले अनावश्यक ढंगले पहाडमा अघि सारेको संघीय राज्यको अवधारणालाई चीनले फिटिक्कै राम्रो मानेको छैन । त्यस्तै तराई–मधेसमा दुई प्रदेश बनाउने कुरालाई पनि उसले मानेको छैन ।
यो विषयमा चीनका आफ्नै खाले बाध्यताहरु रहेका छन् । पहाडमा अनावश्यक ढंगले राज्यहरुको निर्माण गर्दा आफ्नो देशमा समेत त्यसको नकारात्मक प्रभाव पर्ने कुरामा चीन सचेत छ । त्यसैले यो सवालमा एमालेले अघि सारेको अडानलाई उसले पूर्ण रुपमा समर्थन जनाएको देखिन्छ ।
मंगलबारको गोप्य भेटमा एमाले अध्यक्षसँग उपप्रधानमन्त्री याङले दक्षिण एसियाको राजनीतिक र कुटनीतिक अवस्थालाई पनि विशेष ध्यानमा राखेर छलफल गर्नुभएको श्रोतको दाबी छ ।
त्यस्तै, चीनले यसबेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त्यति धेरै नपत्याउनुमा पनि विशेष कारण रहेको छ । माओवादीले अघि सारेको संघीय राज्यको अवधारणासँगै वर्तमान सरकारसँग भएको सत्ता गठबन्धन र चीन र भारतबीच देखिएको दोक्लाम विवादमा सरकार भारतप्रति प्रभावित हुँदै गएको संकेतले चीन झस्किएको देखिन्छ । यसले चीनलाई एमालेप्रति थप घनिष्ठ बनाउँदै लगेको छ ।
वास्तवमा चीनले भारतसँगको विवादका सम्बन्धमा नेपालले तटस्थ नीति लिइदेओस् भन्ने चाहना राखेको छ, तर प्रधानमन्त्री देउवाले एक हप्तापछि गर्ने भारत भ्रमणमा नेपालले विश्वासघात गर्न सक्छ भन्नेमा चीन सशंकित रहेको छ, किनभने यहाँभन्दा अघि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतकै एक कार्यक्रममा दलाई लामाका प्रतिनिधिहरुसँग बसेर भाषण दिएको चीनले बिर्सिसकेको छैन ।
देउवाले दलाई लामाका प्रतिनिधिसँग बसेर दिएको भाषणले चीनलाई निकै चिढ्याएको समेत देखिन्छ । त्यसैले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मंगलबार उपप्रधानमन्त्री वाङले कुटनीतिक हाउभाउमै समय वेत्तित गरेर छलफल सकेको देखिएको छ ।
त्यस्तै, अर्को विषय भनेको चीनको दक्षिण एसियातर्फ अघि बढ्ने महत्वाकांक्षा । उसले केही वर्ष अघिदेखि दक्षिण एसिया हुँदै विश्व बजारमा आफ्नो पहुँच कायम गर्ने योजना अघि सारिरहेको छ । त्यो योजनामा सबैभन्दा पहिला तत्कालीन प्रधानमन्त्री केपी ओलीले नेपालको तर्फबाट शुभ संकेत दिएका थिए ।
ओलीले चीनसँग गाँसेको थप घनिष्टताले उनीहरुलाई ‘एक पेटी, एक राजमार्ग’ को अवधारणामा घच्घच्याउन सजिलो भएको थियो । जसको परिणाम केही महिनाअघि प्रचण्ड नेतृत्वको सरकारले त्यसमा सम्झौता समेत गरिसकेको छ । उता, तिब्बतको रेलमार्गलाई काठमाण्डौ हुँदै बुद्ध जन्मस्थल लुम्बिनी पुर्याउने योजनामा चीन रहेको छ । यसभित्र उसले भारतसम्म बजारको पहुँच निर्माण गर्ने योजना बनाइरहेको छ ।
जुन योजनालाई अरु सरकारभन्दा तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारका पालामा गम्भीर ढंगले उठान गर्न चीनलाई सहज भएको थियो । किनभने त्यसबेला ओली सरकार भारतसँग निकै ठूलो वाक युद्धबाट गुज्रिरहेको थियो । यी सबै मुद्धाहरुको विषयलाई अहिले नेपालमा उठाउन चीनलाई निकै सहज भएको छ, जसको सहजकर्ता नेपालका अन्य नेताहरुभन्दा एमाले अध्यक्ष ओलीनै भएको चीनको बुझाई छ ।
त्यसर्थ, चीनले एमाले र अध्यक्ष केपी ओली नेतृत्वको टिमलाई नेपालमा एउटा भरपर्दो स्थायी शक्तिको रुपमा देख्न थालेको छ, चीनले राखेको उक्त अपेक्षा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको जग हाल्ने काम सुरु भएदेखिकै अपेक्षा थियो । चीनको जुन कदमले एमाले अध्यक्ष ओलीलाई समेत नेपालको राजनीतिक हिरोको रुपमा स्थापित गर्दैछ ।



