नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् । बाढीपीडितको अवस्था बुझ्न तराई झरेका प्रचण्डले बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भदौ ५ गते संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका हुन् ।
संविधान संशोधन विधेयक अघि बढाउन दिने प्रतिवद्धता एमालेले जनाएकाले र राप्रपासमेत यसमा सकारात्मक देखिएकाले संविधान संशोधन विधेयक भदौ ५ गते पास हुने दाबी प्रचण्डकाे छ । ‘संविधान संशोधन प्रक्रियालाई एमालेले पनि अघि बढ्न दिने भनेको छ, राप्रपासमेत यसमा सकारात्मक देखिएको छ,’ प्रचण्डले भने, ‘संशोधनका लागि सबै पक्ष सकारात्मक देखिएकाले भदौ ५ गते संशोधन विधेयक पारित हुन्छ ।’
मधेसकेन्द्रित दलले संविधान संशोधनको माग लामो समयदेखि उठाउँदै आए पनि व्यवस्थापिका संसद्को गणितका कारण पूरा हुन सकेको छैन । मधेसकेन्द्रित दलको संविधान संशोधनको माग पूरा गराउन लागिपरेको सरकारले पुनः यसलाई अघि बढाउन लागेको छ ।
यसैबीच, प्रचण्डले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै मितिमा हुने बताएका छन् । राजनीतिक दलहरुबीच एकै पटक दुवै निर्वाचन गर्ने सहमति बनिसकेको प्रचण्डको भनाइ छ । अनलाइन खबर डट कम बाट



